सडक सञ्जाल फैलिएको ३३ वर्षपछि पर्वतको सदरमुकाम कुश्मा बजारमा सुविधा सम्पन्न बसपार्क निर्माण सम्पन्न भएको छ ।
कुश्मा नगरपालिका–६ स्थित बान्द्रेविडी चौरमा विसं २०७९ साल कात्तिकदेखि बसपार्क निर्माण थालिएकोमा गत असार १५ मा सम्पन्न भएको हो ।
सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङमार्फत ठेक्का सम्झौता भई निर्माण गरिएको बसपार्क सञ्चालनमा भने ढिलाइ भएको छ ।
सात करोड १५ लाख ३० हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको बसपार्क दुई महिना बितिसक्दा पनि सञ्चालनमा आउन सकेको छैन ।
बसपार्क निर्माणको जिम्मा पाएको विजय राङखोला सिद्धबाबा जेभी कम्पनीका प्राविधिक सविन श्रेष्ठले गत असारमै बसपार्क सम्पन्न भएको बताए ।
उनले भने, ‘हामीले गत असारमै बसपार्क सम्पन्न गरिसकेका छौं, तर कार्यालयलाई हस्तान्तरण गरिएको छैन ।’
श्रेष्ठका अनुसार सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङले स्थानीय कुश्मा नगरपालिकालाई हस्तान्तरण गर्न समय लागेकाले सञ्चालनमा आउन ढिलाइ भएको हो ।
श्रेष्ठका अनुसार बसपार्कको टर्मिनल भवन, यात्रु कक्ष र पसलका लागि सटर निर्माण, रंगरोगन लगायत सम्झौता अनुसारको पूरै काम सकिएका छन् ।
बसपार्कमा साना सवारीलाई अलग्गै र ठूला सवारीलाई अलग्गै पार्किङ गर्न मिल्ने गरी पार्किङको ब्यवस्था मिलाइएको छ ।
बसपार्कबाट नै टिकट काट्न मिल्ने गरी टिकट बुकिङ काउन्टरको समेत व्यवस्था गरिएको छ । ११ महिनाको निर्माण अवधि रहेको भए पनि विभिन्न बाधा अवरोधका कारण नौ महिना ढिलो गरी बसपार्क सम्पन्न भएको हो ।
समयमै पर्याप्त बजेट निकासा नहुँदा पनि केही ढिलाइ भएको सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङले जनाएको छ ।
कार्यालय प्रमुख सुनिता श्रेष्ठका अनुसार कुश्मा नगरपालिकालाई हस्तान्तरण गर्ने प्रकृया लम्बिएका कारण बसपार्क सञ्चालनमा ढिलाइ भएको हो ।
श्रेष्ठले कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी र प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमसँग समन्वय भइरहेको र अब केही समयमै हस्तान्तरण प्रकृया अघि बढाइने बताइन् ।
निर्माण सम्पन्न भएर पनि समयमै सञ्चालनमा नआउँदा ट्राफिक समस्या भने ज्यूँका त्यूँ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सिताराम ओझाले बताए ।
ओझाका अनुसार पर्वत सदरमुकाम कुश्मा बजारबाट दिनहुँ काठमाडाैं, पोखरा, सुनौली, विराटनगर, नेपालगन्ज, भैरहवा, काँकडभिट्टा लगायतका सहरमा सार्वजनिक सवारी साधन छुटने गर्छन् भने दैनिक हजारौंको संख्यामा सवारीसाधन बागलुङ, रुकुम, म्याग्दी, मुस्ताङका लागि कुश्मा हुँदै जाने गर्दछन् ।
तर जिल्लामा भित्रिएका र बास बस्नुपर्ने सवारीसाधन असुरक्षित ढंगले सडकमै पार्किङ गर्नुपरेको छ ।
आफूले बसपार्क सञ्चालनका लागि पटकपटक सम्बन्धित निकायमा अनुरोध गरे पनि सुनुवाइ हुन नसकेको ओझाले बताए ।
बसपार्क सञ्चालनमा आएपछि सडकमै पार्किङ गर्ने, बजारभित्र अव्यवस्थित रूपमा सवारीसाधन राख्नुपर्ने र अन्य खालका दुर्घटनाका जोखिम न्यूनीकरण हुने ट्राफिक प्रहरीको भनाइ छ ।
जिल्लाको ट्राफिक व्यवस्थापनमा समेत सहज हुने प्रहरीले जनाएको छ ।