५ देखि ७ वर्षसम्मको लोन ७.७७ प्रतिशत ब्याजदरमा

 – राज्यलक्ष्मी खड्गी, विभागीय प्रमुख
कन्ज्युमर बैंकिङ डिपार्टमेन्ट, राष्ट्रिय वाणिज्य बैंक

यहालाई कसरी परिचित गराउन सकिन्छ ?
मैले राष्ट्रिय वाणिज्य बैंकमा २०६२ सालदेखि करियर सुरु गरें । अफिसरबाट सुरु भएको करियरमा म अहिले तीन वर्षदेखि डिपार्टमेन्ट चिफको रुपमा काम गरिरहेको छु । मैले मास्टर शंकरदेवबाट गरें भने एआइटी कलेज, थाइल्यान्डबाट बैंकिङ एन्ड फाइनान्समा फेरि मास्टर डिग्री गरेको छु ।

अनुभवको कुरा गर्दा ०६२ सालभन्दा अगाडि पाटन हस्पिटलमा एडमिन एसिस्टेन्टको रुपमा काम गरेको थिएँ । वाणिज्य बैंकमा काम गर्दा मैले तीनवटा विभाग सम्हालेको छु । विभिन्न पोस्टमा बसेर काम गर्दा धेरै कुरा सिकेको छु ।

राष्ट्रिय वाणिज्य बैंकले अटोलोनलाई कसरी हेरेको छ ?
केही वर्षअगाडि वाणिज्य बंैकलाई अटोलोनको विषयमा त्यति विश्वसनीयता थिएन । गाडीमा लगानी गर्दा निकै जोखिम मानेर अटोलोनमा खासै काम भएको थिएन । अहिले सिनारियो परिवर्तन हुँदा मानिसलाई गाडी पनि घरजस्तै अनिवार्य भएपछि बैंकहरुले पोर्टफोलियो मिलाउनका लागि पनि अटोमोबाइलमा जानुपर्छ भनेर अहिले यो क्षेत्रमा कुल लोनको ४-५ प्रतिशत लगानी गरेको अवस्था छ ।

यो क्षेत्रमा जोखिम कत्तिको हुन्छ ?
लोनमा रिक्स त हुन्छ नै । रिक्स लिए मात्रै नाफा कमाउन सकिन्छ । अहिले जोखिम यो क्षेत्रमा ५ प्रतिशत मात्रै देखिन्छ । खासै जोखिम छैन । प्राइभेट गाडीमा खासै धितो राख्नुपर्ने हुँदैन । हायर पर्चेजमा भने धितो राख्नुपर्ने पनि हुन्छ । यसले जोखिम व्यवस्थापन गरेको छ ।

अटो क्षेत्रमा लोन दिदा कति प्रतिशतसम्म दिन सकिन्छ ?
हामी अहिले इन्धन गाडीमा ५० प्रतिशतसम्म लोन दिन्छौं भने इभीमा ८० प्रतिशतसम्म दिन्छौं । डिजेल वा पेट्रोल गाडी पनि कम्पनीको नाममा छ भने ७० प्रतिशतसम्म लगानी गर्न सकिन्छ ।

भाडाका इभीमा कसरी लोन दिइरहनुभएको छ ?
भाडाका गाडीमा चालकलाई कम माया हुन सक्छ भनेर वा विविध कारणले हामी भर्खरै अगाडि जाँदै छौं । त्यसमा भने हामी केही धितो पनि खोज्छौं । बिस्तारै अगाडि बढ्दै छौं । भाडाका गाडीमा पहिला पनि डिफल्ट आएको थियो । त्यसैले सोचेर थोरै-थोरै लगानी गरिरहेका छौं ।

अटोलोन नउठ्दा कस्तो खालको असर पर्छ ?
उपभोक्ताले अटोलोन नतिर्दा निकै असर पर्छ । हामीले लोन दिँदा पैसा कमाएर तिर्छ भनेर दिएका हुन्छौं । तर, भाडाका र रुटमा चढ्ने गाडीले पैसा नतिर्दा चाँडै तानेर लिलाम गर्न पनि गार्‍हो छ । त्यसैले असर त धेरै हुन्छ । ब्याजमा र किस्तामा पेनाल्टी थपिँदै जान्छ ।

अटोलोनमा यो बैंक कुन वर्षमा बढी मारमा परेको थियो ?
२०६५ तिर भाडाका गाडीमा बढी डिफल्ट आएको थियो । त्यसपछि अहिले अटोलोन नियन्त्रणमा छ ।

नाडालाई कसरी हेर्नुभएको छ ?
नाडा अटो शोलाई फेस्टिभलको रुपमा लिएका छौं । हरेक वर्ष हाम्रो नजर अटो शोमा हुन्छ । अटो शोमा कसरी हाम्रो इभीलाई प्रमोट गर्न सकिन्छ भनेर हामी योजना बनाउँछौं । तर हामीले नाडामा स्टल नराखे पनि नाडालाई टार्गेट गरेर फेस्टिभल अफर ल्याएका हुन्छौं । यो वर्ष पनि ल्याएका छौं । त्यो स्किम हेरेर आउने धेरै उपभोक्ता हुनुहुन्छ । यो वर्ष पनि आइसक्नुभएको छ । हाम्रो गत वर्षजस्तै यो वर्ष पनि एउटा लोन टार्गेट छ । त्यो हरेक वर्ष मिट भइरहेको छ ।

यो बैंकभित्र अहिले कति जति इभी चलेका होलान् ?
बैंकको र स्टाफको गरेर अहिले लगभग २० वटा जति इभी चलेका छन् । यो क्रम बिस्तारै बढ्नेछ ।

इभी प्रयोगको फाइदा के होला ?
इकोनोमिक छ । यसमा इन्धन र मर्मत खर्चको ठूलो हिस्सा जोगिन्छ । मूल्यअनुसार यो अन्य गाडीको तुलनामा लग्जरियस पनि छ ।

बैंकले इभीमा के जोखिम देखेको छ ?
रिसेल मूल्य र ब्याट्री रिप्लेसका बारेमा केही जोखिम महसुस हुन्छ । जसले गर्दा अहिले पनि हामी हल्का अलमलमा छौं । तर, केही विश्वसनीय आधारको हिसाबले फाइनान्स गरिरहेका छौं ।

गत वर्ष इभीमा कति जति लगानी भयो ?
गत वर्ष हामीले इभीमा १ अर्ब ८५ करोड जतिको फाइनान्स गर्‍यौं । यो कुल अटोलोनको ५० प्रतिशत हो । इभीको फाइनान्सिङ गत वर्षबाट मात्रै विशेष रुपमा सुरु भएको हो ।

तपाईं आफूलाई चाहि“ कुन गाडी मन पर्छ ?
मन त मर्कसिटिज नै किन्ने छ । त्यो किन्न सकिएला, नसकिएला । तर, अहिले महिन्द्रा-७०० किनौं-किनौं लागेको छ ।

यो वर्ष अटोलोनमा बैंकले ब्याजको विषयमा कस्तो निणर्य लिएको छ ?
पहिला ब्याज बढ्ने मात्रै हुन्थ्यो, घट्ने हँुदैनथ्यो । अहिले हामीले ७.७७ प्रतिशत ब्याजदरमा पाँचदेखि सात वर्षसम्मको लोन दिन लागेका छौं । प्रोसेसिङ चार्ज ०.७ प्रतिशत मात्रै छ ।

हाम्रो ७ प्रदेशका ७७ जिल्लामा बैंक शाखा छ । हामी सम्भव भएसम्म सबै शाखाबाट लोन प्रवाह गर्न चाहन्छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *