नेपालमा अटोमोबाइल एसेम्ब्ली प्लान्टमा लगानी बढ्दै गइरहेको छ । गत आर्थिक वर्ष ०८०/८१ मा मात्रै ६ वटा एसेम्ब्ली प्लान्टले चार अर्ब ६२ करोड लगानी गर्ने प्रतिबद्धता गरेर कम्पनी दर्ता गराएका छन् ।
हालसम्म दुईपांग्रे र चारपांग्रे सवारीसाधनका गरी आठवटा एसेम्ब्ली प्लान्ट सञ्चालनमा आइसकेका छन् ।
योबाहेक अढाई दर्जन एसेम्ब्ली प्लान्ट सञ्चालनका लागि दर्ता भएका उद्योग विभागको तथ्यांक छ । नेपालमा विदेशबाट कम्प्लिट नकडाउन (सिकेडी) आयात गरेर सवारीसाधन एसेम्बल गर्छन् ।
सात वर्षअघि ०७४ मा नवलपरासीको रामग्राममा बजाजको एसेम्ब्ली प्लान्ट सञ्चालनमा आएको थियो ।
त्यसयता यात्री, टिभिएस, रोयल इन्फिल्ड, यामाहा, हिरो, क्रस एक्स ‘सिएक्स’ र हुन्डाईको एसेम्ब्ली प्लान्ट खुलिसकेका छन् । जसमध्ये सातवटा दुईपांग्रे मोटरसाइक/स्कुटर र हुन्डाईको चारपांग्रे कार प्लान्ट रहेका छन् ।
यात्री र क्रस एक्स देशमै डिजाइन गरेर उत्पादन भइरहेको स्वदेशी ब्रान्ड हो । हालै मात्र यात्रीसँग चर्चित व्यावसायिक घराना सिप्रदी समूहले साझेदारी गर्ने सम्झौता गरेको छ ।
भारतीय टाटा गाडीको विक्रेता सिप्रदीको प्रवेशसँगै यात्रीले विद्युतीय मोटरसाइकलसँगै स्कुटर पनि उत्पादन गर्ने लक्ष्य लिएको छ ।
दर्ता भएका नयाँ कम्पनी
मोरङको बुढीगंगामा विद्युतीय गाडी एसेम्ब्ली प्लान्ट खोल्न १६ असार ०८१ मा कोशी एनके मोटर्स प्रालि दर्ता भएको छ ।
यो कम्पनीले स्वदेशमै गाडी उत्पादन गर्न चिनियाँ कम्पनी स्यामन गोल्डेन ड्रागन अटो बडीसँग साझेदारीको सम्झौतासमेत गरिसकेको छ । तर, उद्योग विभागमा दर्ता हुँदा लगानी भने स्वदेशी रहने उल्लेख गरेको छ ।
वैशाखमा लगानी सम्मेलनकै वेलामा एनके मोटर्स र स्यामनबीच चीनको फुजियन प्रान्तमा नेपालमा चारपांग्रे गाडी उत्पादन गर्ने सम्झौता भएको थियो ।
दुई कम्पनीले एक वर्षभित्र एसेम्बल सुरु गर्ने गरी पहिलो चरणमा तीन अर्ब लगानी गर्ने बताइएको छ । स्यामन दुईपांग्रे र चारपांग्रे सवारीसाधन उत्पादन गर्ने चिनियाँ कम्पनी हो । एसेम्बल प्लान्ट स्थापनाका लागि बुढीगंगामा १५ बिघा जग्गा रहेको कम्पनीले जनाएको छ ।
उद्योग विभागका अनुसार कम्पनीले वार्षिक ४२० युनिट विद्युतीय गाडी एसेम्बल गर्ने प्रस्ताव गरेको छ ।
यस्तै, चिनियाँ लगानीमै विद्युतीय रिक्सा र भ्यान उत्पादन गर्ने गरी एसिया भेहिकल कम्पनी दर्ता भएको छ । २१ माघ ०८० मा दर्ता भएको कम्पनीले बाराको सिमरा सेजमा उद्योग स्थापना गरिरहेको छ ।
करिब ८७ करोड लगानी हुने प्लान्टबाट इलेक्ट्रिक थ्री ह्विलर ६ हजार युनिट, इलेक्ट्रिक फोर ह्विलर भ्यान ३ हजार युनिट, इलेक्ट्रिक टु ह्विलर ३ हजार थान उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
सोही चिनियाँ समूहले सेजमा एकसाथ तीन उद्योग लगाइरहेको छ । यो समूहले ९२ करोड लगानीमा लि–आयोन तथा लिड एसिड ब्याट्री र ९७ करोड लगानीमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक उपकरण तथा कपर र आल्मुनियम इंगोट उत्पादन गर्ने उद्योग लगाइरहेको छ ।
अहिले उद्योगको भौतिक संरचना निर्माणको काम भइरहेको सिमरा सेजका सहायक निर्देशक पप्पु गिरीले बताए ।
भक्तपुरमा एसेम्ब्ली प्लान्ट खोल्ने गरी नेपाल जियाक्सिङ न्यु इनर्जी टेक्नोलोजी उद्योग दर्ता भएको छ । करिब चार करोड विदेशी लगानीमा स्थापना गरिने एसेम्ब्ली प्लान्टबाट तीनपांग्रे ३२ सय र दुईपांग्रे चार हजार युनिट उत्पादन गर्ने लक्ष्य छ ।
स्वदेशी लगानी रहने जेम्स ग्रिन इलेक्ट्रो मोबिलिटी सर्भिसले इलेक्ट्रिक भेहिकल –बाई कन्भर्जन) सय युनिट र इलेक्टिक भेहिकल (बाई एसेम्बलिङ) पाँच सय युनिट उत्पादन गर्ने प्रस्ताव गरेको छ । भक्तपुरमा रहने एसेम्ब्ली प्लान्टमा २८ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता आएको छ ।
काठमाडौंमा एसेम्ब्ली प्लान्ट खोल्ने गरी १८ असोज ०८० मा नेपाल कोरिया ई–भेहिकल कम्पनी दर्ता भएको छ ।
करिब ४० करोड लगानी हुने एसेम्ब्ली प्लान्टबाट विद्यसतीय थ्रि ह्विलर्स १५ सय युनिट, इलेक्ट्रिक फोर ह्विलर्स कार–भ्यान एक हजार युनिट, विद्युतीय टु ह्विलर्स ६ हजार युनिट एसेम्ब्ली गर्ने लक्ष्य छ ।
भक्तपुरमा पौने तीन करोड लगानीमा एसेम्ब्ली प्लान्ट खोल्ने गरी ३ माघ ०८० मा कर्ल इलेक्ट्रिक अटो दर्ता भएको छ ।
७५ प्रतिशत विदेशी र २५ प्रतिशत नेपाली रहने प्लान्टबाट विद्युतीय दुईपांग्रे ६०० युनिट, विद्युतीय तीनपांग्रे १५० र विद्युतीय चारपांग्रे भ्यान १५० युनिट उत्पादन लक्ष्य राखेको छ ।