दुई दिनदेखि सर्भर डाउन हुँदा देशभरको यातायात कार्यालयका सेवा ठप्प भएका छन्। सेवा लिन गएका सेवाग्राही र कर्मचारीबीच तनावको अवस्था पनि सिर्जना भएको छ।
यातायात कार्यालय सधै भीडभाड नै हुन्छन, सेवा प्रवाहमा व्यस्त सरकारी कार्यालयमध्ये यातायात व्यवस्था मुख्य हुन्।
काठमाडौंका चार कार्यालयले मात्रै दैनिक ४ हजारभन्दा बढीलाई सेवा दिने गरेका छन्।
देशभर यातायात कार्यालयबाट दैनिक हजारौंले सेवा लिने गरेका छन्। काम नभएपछि सेवाग्राहीहरू कर्मचारी खनिन थालेका छन्।
कतिपय कार्यालयमा सेवाग्राहीको आक्रोशका कारण कर्मचारी दिउँसै कार्यालय छाडेर हिँडेका छन्।
यातायात व्यवस्था कार्यालय सवारीचालक अनुमतिपत्र, ठूलो भर्याङका प्रमुख विमलप्रसाद भट्टराईले सर्भर डाउन हुँदा कार्यालयहरू ठप्प भएको पुष्टि गरे।
उनले भने, ‘सर्भर डाउन हुँदा सेवा प्रवाह अवरुद्ध भएको छ, कार्यालयहरू ठप्प छन् ।’
उनले यो समस्या तत्काल सुधार गर्नुपर्ने औंल्याउँदै त्यसले कर्मचारी र सेवाग्राहीबीच दरार सिर्जना भएको बताए, सर्भर समस्या दीर्घकालीन रूपमा समाधान गर्नुपर्ने उनको भनाइ छ।
यातायात व्यवस्था विभागका निर्देशक एवं सूचना अधिकारी ईश्वरीदत्त पनेरूले सर्भर डाउन भएकाले समस्या आएको जानकारी दिए।
‘अहिले सर्भर डाउन भएर देशभरका यातायात कार्यालयको काम प्रभावित भएको छ।
तर, प्राविधिक विषय भएकाले के समस्या हो, कहिले बन्छ भन्ने मलाई पनि थाहा भएन,’ उनले भने।
उनले आकस्मिक (अर्जेन्ट) सेवा भने सञ्चालनमा रहेको दाबी गरे, यस्तो समस्या पटक–पटक आउने गरेको छ।
बारम्बार सर्भर समस्याको कारण सेवाग्राहीले हैसानी र दुःख पाउँदै आएका छन्।