चीनको व्यावसायिक वाहन निर्माता कम्पनी फोटोन र सोकोन मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेइकल्सले पोखरामा शोरुम सञ्चालन गरेको छ ।
आइतबारदेखि पोखराको बुद्धचोकमा नयाँ शोरुम सञ्चालनमा आएको हो । शोरुममा फोटोन र सोकोनका गाडी उपलब्ध छ ।
फोटोन मोटर्सका हाईरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वानसहित कुशल र भरपर्दा सवारी साधन शोरुममा पाइन्छन् । साथै सोकोन मोटर्सका बहुमुखी इसी३६ भ्यान, यात्रुवाहक, स्कुल र कार्गो भेरियन्ट समावेश छन् ।
कम्पनीका सेल्स प्रमुख नवीन आचार्यका अनुसार फोटोन र सोकोनका विद्युतीय र पेट्रोलीयम गाडी पोखरा शोरुमबाट बिक्री गरिनेछ ।
शोरुममा ११ देखि १६ सिटसम्मका विद्युतीय सवारी साधन उपलब्ध छन् ।
आर्थिक अवस्था सुधार गर्न तथा वातावरण संरक्षणका लागि अहिले अवस्थामा विद्युतीय साधनको प्रयोगमा जोड दिनुपर्ने उनको धारणा छ ।
सर्भिस प्रमुख जयन्त बस्नेतका अनुसार कम्पनीका नेपालभर २० वटा सेवा केन्द्र छन् । कम्पनीले विद्युतीय सवारीसाधन र सीएटीएल ब्याट्री पनि प्रदान गर्ने उनले बताए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत तुसार गुप्ताले ग्राहकलाई सेवा दिन देशका कुना–कुनामा सेल्स एण्ड सर्भिस नेटवर्कको विकास गरिने बताए ।
ग्राहकलाई फोटोन र सोकोन प्लान्ट भ्रमणका लागि पठाउने कम्पनीको योजना रहेको उनले स्पष्ट पारे ।
सो अवसरमा सहभागी गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजीव गुरुङले जलविद्युतको विकासको कारण विद्युतीय सवारीसाधनको भविष्य राम्रो हुने बताए ।
विद्युतीय सवारी साधनको प्रयोगले व्यक्तिलाई नाफा मात्र नभई वातावरण संरक्षणमा समेत योगदान पुग्ने उनको विश्वास छ ।
‘नेपालमा विद्युत उत्पादन राम्रो छ तर विक्री नै गर्नुपर्ने अवस्था म देख्दिन’, मन्त्री गुरुङले भने, ‘सबै उत्पादन यहीँ नै प्रयोगमा ल्याउन सके महंगो ग्यासको विकल्पमा विद्युतीय चुलो प्रयोग गर्न सकिन्छ ।’