राइड सेयरिङको विरोध गर्दै यातायात व्यवसायी आन्दोलित भएपछि गण्डकीमा आजदेखि सार्वजनिक यातायात ठप्प भएको छ ।
उनीहरूले ३ दिनअघि सरकारलाई ध्यानाकर्षण गराउँदै शनिबार रातिसम्मको अल्टिमेटम दिएका थिए ।
यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकीका सचिव योगेन्द्र केसीका अनुसार माग सुनुवाइ नभएको भन्दै व्यवसायीले आफ्ना गाडीहरू घर र ग्यारेजमा थन्क्याएका छन् ।
माग सम्बोधन नहुँदासम्म पछि नहट्ने उनले बताए । सरकारले अघिल्लो वर्षदेखि नीति तथा कार्यक्रममा नै राइड सेयरिङलाई वैधता दिने कुरा समेटेको थियो ।
तर कानुन र कार्यविधि नहुँदा अघि बढ्न पाएन । यो वर्ष पनि नीति तथा कार्यक्रम र बजेटमा राखिएको छ ।
सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा कार्यविधि पास गरेर राजपत्रमा प्रकाशन गर्ने तयारी गरेको थियो ।