ललितपुर महानगरले आफ्नै लगानीमा वडा नम्बर २२ र २७ लाई जोड्ने नख्खु खोलामा सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण गरेको छ ।
पाँच करोड ७५ लाख ९२ हजार ६ सय २७ को लागतमा सम्पन्न पुलको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शनिबार उद्घाटन गरेका छन् ।
उक्त अवसरमा उनले पूर्वाधार निर्माणमा गुणस्तरीय सामग्री प्रयोग गरिएको बताए ।
यस्तै, उक्त पुल निर्धारित समयभन्दा पाँच महिनाअघि नै निर्माण समाप्त भएको उनको भनाइ छ ।
महानगरपालिकाकी उपमेयर मञ्जली शाक्यले पुलबाट धापाखेल र ठेचोवासी प्रत्यक्ष लाभान्वित हुने बताइन् ।
‘कृषक, शिक्षक, विद्यार्थीलाई विशेष लाभ मिल्नेछ, यसले आर्थिक–सामाजिक रूपमा स्थानीयलाई समृद्ध बनाउन सघाउनेछ,’ उनले भनिन् ।
कार्यक्रममा वडा नम्बर २२ का वडाध्यक्ष सागर तुलाधर, वडा नम्बर २६ का अध्यक्ष सुरेश महर्जन र वडा नम्बर २७ का अध्यक्ष कृष्णहरि महर्जनले निरन्तरको अनुगमनको परिणामस्वरूप निर्धारित समयअगावै पुल सम्पन्न भएको बताए ।
उनीहरूले निर्माण कम्पनीको लगन र इमानदारीप्रति आभार व्यक्त गरे ।