१६ लाख सर्वसाधारणलाई सरकारले सवारी लाइसेन्स छापेर दिन सकेको छैन ।
छपाइसम्बन्धी मास प्रिन्टरको खरिदमा समस्या हुँदा सर्वसाधारण पीडित बनेका हुन् ।
दुई वर्षअघि परीक्षा पास गरेका तथा नवीकरणका लागि आवेदन दिएकाको मात्र हाल प्रिन्ट भएको छ । विभागमा दैनिक करिब चार हजार लाइसेन्स मात्र छपाइ हुने गरेको छ ।
पछिल्लो ६ महिनामा यातायात व्यवस्था विभागले मास प्रिन्टर छपाइको टेन्डर चारपटक रद्द गरिसकेको छ ।
स्वार्थ समूहको चलखेलका कारण टेन्डर विवादमा पर्दै आएको छ । विभागले नयाँ कार्ड खरिद गरी पुरानै प्रिन्टरबाट थोरै लाइसेन्स छाप्दै आएको छ ।
विगतमा मद्रास सेक्युरिटीले यससम्बन्धी ठेक्का हात पारेको थियो ।
सोही ठेक्कामा बदमासी हुँदा लाखौँ सर्वसाधारणले दुःख पाएको विभागका एक कर्मचारीले बताए, सम्झौताअनुसार छपाइ पनि भएको छैन ।
विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले भने छपाइलाई तीव्रता दिने प्रयास भइरहेको बताए ।