हेटौँडामा अटोक्रस च्याम्पियनसिप सम्पन्न

बागमती अटोमोबाइल्स एसोसिएसन र चितवन अटोमोबाइल्स डिलर एसोसिएसनको संयुक्त आयोजनामा आयोजित अटोक्रस च्याम्पियनसिप कम्पिटिसन २०२४ हेटौँडास्थित गौरीटार स्टेडियम एरियामा भव्य रुपमा सम्पन्न भएको छ ।

गौरीटार स्टेडियम भित्र एक किलोमिटर अस्थायी ट्रयाकमा सम्पन्न सो प्रतियोगितामा सुमन तामाङ प्रथम र राजन पियाले दोस्रो स्थान हात पारेका छन् ।

उनीहरू दुवैजना यसै वर्ष हुने एसिया प्यासिफिक अटो जिमखाना च्याम्पियनसिपमा सहभागी हुनेछन् ।

नेपालभरका ड्राइभर्सहरूको खुल्ला प्रतियोगितामा विजयीहरूलाई बागमती खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारी, उद्यमी अरुणराज सुमार्गी, नेपाल खेलकुद महासंघका महासचिव धरम कुमार लामा, नेपाल अटोमोबाइल एसोसिएसनका उपाध्यक्ष अनिल कुमार बराल तथा कोशी अटोमोबाइल एसोसिएसनका अध्यक्ष प्रकाश कपुरी लगायतले पुरस्कृत गरे ।

हेटाँैडामै पहिलोपटक डिजाइन गरिएको कलात्मक ट्रयाकमा सहभागी हुन सबै उमेर समूहका ड्राइभरहरू उत्साहित थिए तर उनीहरूको ड्राइभङ स्किल, उमेर अवस्था, शारीरिक क्षमता र स्वास्थ्य अवस्था समेतको विश्लेषण गरी फाइनल राउन्डमा २० जना ड्राइभर्स र नेभिगेटरहरुलाई मात्र चयन गरिएको थियो ।

यसअघि गरिएको ओरिएन्टेसनमा राउन्डमा भने १८ ड्राइभर्स र १६ को–ड्राइभर सहभागी थिए ।

बागमती प्रदेश संघले पहिलोपटक तथा नासा नेपालले काठमाडौँ बाहिर पहिलोपटक आयोजना गरेको सो प्रतियोगिता अन्तर्राष्ट्रिय अटोमोबाइल फेडरेसन एफआईएका स्पोर्ट्स ग्रान्ट अन्तर्गत र बागमती खेलकुद विकास परिषद् र भरतपुर मनपाको विशेष सहयोग तथा पोखरा राइडर्स क्लबको प्राविधिक सहयोगमा सम्पन्न भएको नासा नेपालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *