मुग्लिङ–पोखरा सडकको काम ५५ प्रतिशत मात्रै

पृथ्वी राजमार्गअन्तर्गत पोखरा–मुग्लिङ सडकखण्डको आँबुखैरेनीदेखि पोखरासम्मको करिब ८१ किलोमिटर सडकको स्तरोन्नतिको काम जारी छ ।

सडकखण्ड अन्तर्गत आँबुखैरेनीदेखि पोखरासम्मको क्षेत्रलाई दुई प्याकेज पूर्व र पश्चिम खण्डमा छुट्याइएको छ ।

पूर्व खण्डमा आँबुखैरेनीदेखि जामुनेसम्मको ४१.४५ किलोमिटर र पश्चिम खण्डमा जामुनेदेखि पोखरासम्मको ३८.८८ किलोमिटर क्षेत्र तेकिएको छ ।

एसियाली विकास बैंक (एडिबी) १३ अर्ब ६१ करोड ऋणमा सडक विस्तारको काम भइरहेको छ । सडक विस्तारका क्रममा कुल ८१ किलोमिटरमध्ये करिब २० किलोमिटर ६ लेनको हुनेछ ।

चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले पाएको पूर्व खण्डको निर्माणको सम्झौता आइतबार सकिएको छ ।

२ वैशाख ०८१ सम्म निर्माण सक्ने गरी ६ अर्ब २१ करोड ३१ लाखमा कम्पनीले १४ माघ ०७७ मा ठेक्का सम्झौता गरेको थियो । समय सकिँदा पनि निर्माण कार्य भने ५५ प्रतिशत मात्र भएको छ ।

पूर्व खण्डका आयोजना प्रमुख श्यामकुमार यादवका अनुसार यस क्षेत्रमा पर्ने ४१.४५ किलोमिटरमध्ये १.३४ किलोमिटर ६ लेन र बाँकी सडक चार लेनमा विस्तार भइरहेको छ ।

३० चैत ०८० सम्म एक साइड २६ किलोमिटरसँगै १८ किलोमिटर दुईतर्फी पिच भएको उनको भनाइ छ ।
यस क्षेत्रमा मेजर चार र माइनर १४ गरी १८ वटा मोटरेबल पुल छन् । त्यसमध्ये दुई मेजर पुलबाहेक सबै निर्माण भइसकेको उनले बताए ।
कुल ४१.४५ किलोमिटरमध्ये करिब डेढ किलोमिटर सडक क्षेत्रको साइड क्लियर गर्न बाँकी रहेको उनले जानकारी दिए ।
साइड क्लियर गर्न बाँकी रहेका क्षेत्रबाहेक अन्य स्थानमा कल्भर्ट, नाला, ग्याबिन जाली भर्ने, विद्युत्को पोल सार्ने, खानेपानीको पाइपलाइनलगायत सबै काम सकिएको छ ।

दमौली र डुम्रे बजारमा समस्या  
पूर्व खण्डका आयोजना प्रमुख यादवका अनुसार ४१.४५ किलोमिटरमध्ये ४० किलोमिटर क्षेत्रको साइड क्लियर भइसकेको छ । यस खण्डमा मुख्य बजार क्षेत्र दमौलीमा आठ सय मिटर र डुम्रेमा करिब ६ मिटर सडक क्षेत्रको साइड क्लियर गर्न बाँकी छ ।

यस क्षेत्रमा करिब ६५ प्रतिशत घरटहरा मात्र सम्बन्धित धनीले हटाएको र केही अटेर गरेको यादवले जानकारी दिए ।

साइड क्लियर नहुँदा कल्भर्ट, नाला, ग्याबिन जाली भर्ने, विद्युत्को पोल सार्ने, खानेपानीको पाइपलाइन सार्नेलगायत काम हुन नसकेकाले मुख्य चुनौतीका रूपमा यो क्षेत्र देखिएको उनको भनाइ छ , यस क्षेत्रमा विद्युत्का करिब सात सय पोल रहेका छन् ।
पश्चिमतर्फको म्याद भने १२ भाद्र ०८१ सम्म रहेको छ । चार महिना मात्रै समय बाँकी रहेको पश्चिमको निर्माण कार्य पनि १९ प्रतिशत मात्र सम्पन्न भएको छ ।

निर्माण कम्पनीद्वारा चार सय ५६ दिन थप समय माग
सम्झौता म्याद सकिएसँगै निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले परामर्शदातासँग चार सय ५६ दिन थप समय माग गरेको यादवले जानकारी दिए ।

सडक स्तरोन्नतिका लागि स्विट्जरल्यान्डको रेनारडेट कम्पनी परामर्श दाताका रूपमा रहेको छ ।

आयोजनाको कार्यालयलाई परामर्शदाताले गरेको सिफारिसअनुसार सडक विभागअन्तर्गतको एडिबी सडक निर्देशनालयलाई लेखिपठाएपछि कति दिन म्याद थप गर्ने निर्णय हुने यादवले बताए ।

विगत ६–७ महिनाअघिको तुलनामा अहिले कामको रफ्तार धेरै बढेकाले यही गतिमा काम भए एक वर्षमा सबै काम सकिने उनको जिकिर छ ।

विशेष गरी निर्माण कम्पनीले परामर्शदातासँग सुरुमा कोभिडको दोस्रो लहरका कारण र पछि विद्युत्, खानेपानी, टेलिफोनलगायत लाइन सार्ने काममा भएको ढिलाइले सडक निर्माणको काममा अवरोध भएको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *