हेटौंडा– नेपाल निर्माण व्यवसायी महासंघले हेटौंडा घोषणपत्र जारी गर्ने भएको छ ।
महासंघ अध्यक्ष रवि सिंहले २५ औं साधारणसभामा निर्माण उद्योगमा देखिएको चुनौतीको बारेमा छलफल गरी निर्माण उद्योगको विकास र विस्तारका लागि साधारणसभाले गरेको निर्णयहरु घोषणपत्रमार्फत जारी गर्ने बताएका हुन् ।
साधारणसभा शुक्रबारबाट बागमती प्रदेशको राजधानी हेटौंडामा सुरु हुँदैछ । दुइदिनसम्म चल्ने साधारणसभाको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
बिहीबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै महासंघले २५ औं साधारणसभा समस्त निर्माण व्यवसायीहरुको सीप, दक्षता, क्षमता र गुणस्तर अभिवृद्धि गर्न महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरेको छ ।
साधारणसभामा देशभरबाट करिब एक हजार एक सय जना प्रतिनिधि र ५ सय जना पर्यवेक्षक सहभागी हुने महासंघले जनाएको छ ।
साधारणसभाकै बीचमा निर्माण क्षेत्रमा केन्द्रित रही विज्ञहरुको लेख रचना र महासंघको गतिविधि समेटिएको निर्माण विशेषांक स्मारिकाको विमोचन गर्ने कार्यक्रम राखिएको छ ।
निर्माण उद्योगको विकास र विस्तारमा महत्वपूर्ण योगदान दिने निर्माण व्यवसायीलाई सम्मान समेत गरिने महासचिव रोशन दाहालले बताए ।
साधारणसभा सम्पन्न गर्नका लागि महासंघ अध्यक्ष सिंहको संयोजकत्वमा मुल आयोजक समिति र विविध उपसमितिसमेत गठन गरिएको छ ।
साधारणसभा स्थलमा निर्माण कम्पनीसँग सम्बन्धित २४ वटा स्टलहरु राखिने बताइएको छ ।
महासंघको साधारणसभा उद्घाटन कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ, सहरी विकास मन्त्री धनबहादुर बुढा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललगायत सहभागी हुने बताइएको छ ।