मोल्फा बजारदेखि चार घण्टाको बाटोमा भारी बोकेर दैनिकी चलाउँदै आएका शुभकालिका गाउँपालिका–७ का हस्तबहादुर शाहीलाई छिटो सडक खनिए आफ्ना दुःख घट्ने आशा छ।
‘मनका दुःख मनमै छन्। कहिले पूरा हुन्या हुन्, वर्षौँ बित्यो सडक आएन,’ शाहीले दुःख पोखे।
उनी मात्र होइन, यो भेगका नागरिकले दुःख खेप्नुपरेको वर्षौँ भइसक्यो।
कृषि क्षेत्रमा धेरै लगानी गरेका यहाँका नागरिकले सडक नहुँदा कृषिबाली बेच्न निकै कष्ट खेप्दै आएका छन्।
कर्णाली प्रदेशका पूर्वसांसद तथा कृषिमन्त्री कृमराज शाहीको जन्मघर पनि सेरी-पान्तडी सडक हुँदै जानुपर्छ।
‘म सांसद हुँदा सेरी-पान्तरी सडक निर्माणको काम आफ्नै पालामा सक्छु भनेर भोट मागेको थिएँ। आफू सांसद भएदेखि मन्त्री हुँदासम्म धेरै रकम विनियोजन भयो, तर ठेकेदारले काम नगरेर त्यो बजेट फ्रिज भयो।
अहिलेसम्म ठेकेदारले काम सम्पन्न गरेका छैनन्,’ उनले भने।
ठेकेदार तारा शाहको निर्माण सेवाले काम ढिलो गरेको बताउँदै उनले भने, ‘अबको दुई वर्षमा निर्माण सम्पन्न हुन्छ कि ?’
शुभकालिका गाउँपालिकाका प्रथम अध्यक्ष खडानन्द्र चौलागाईंले मान्म जोड्ने सडक निर्माण हुनुभन्दा पहिला सर्भे गरी सीधै ‘सेरीघाट-जुम्ला सडक’ नाम राखी ५१/५२ सालबाट नेपाली सेनाले काम सुरु गरेको जानकारी दिए।
उनले भने, ‘०५७/५८ सालमा आन्दोलनको वेला तत्कालीन राजा ज्ञानेन्द्र कालिकोट आएपछि सदरमुकाम मान्मलाई सडक सञ्जालले नछोएको हुँदा त्यो सडकलाई मान्मबाट निर्माण गर्न विभिन्न दलका नेताहरूले दबाब दिएपछि नेपाली सेनाले सेरीघाटदेखि मान्म हुँदै जुम्लाको सडक निर्माण सुरु गरेको थियो।’
कर्णाली प्रदेश सरकारको प्राथमिकतामा परेको भनिएको उक्त सडक निर्माणका लागि पुनः २०५७ सालमा ठेक्का भयो।
सेरी–पान्तडी सडक चाहियो भनेर महाबैको गेलाका हर्कबहादुर शाहीको नेतृत्वमा जुलुससमेत भएको थियो। तर, अझै यो सडक निर्माण कार्य अलपत्र पर्दै आएको छ।
यो सडक र शुभकालिका गाउँपालिका जाने सडक एउटै भएकाले अघिल्लो सरकारले सडक निर्माण गर्दा दुई करोड ४९ लाख खर्च भएको गाउँपालिकाले जनाएको छ।
०७६ देखि ७८ सालसम्म दुई करोड ८४ लाख खर्च भएको र आर्थिक वर्ष ०७८/७९ मा चार वर्षको लागि २२ करोड ५५ लाख ६७ हजार ६० रुपैयाँमा ठेक्का भएर काम अगाडि बढेको पूर्वाधार कार्यालय कालिकोटले जनाएको छ।
यो वर्ष सेरी–पान्तडी सडकको लागि साढे ५ करोड विनियोजन भएको छ।
कडा चट्टानका कारण काम गर्न समस्या भएको हुन सक्ने पूर्वाधार कार्यालय कालिकोटका इन्जिनियर लक्ष्मण पाण्डेले बताए।
कार्यालयले धेरैपटक खबर गर्दा पनि निर्माण कम्पनीले काम गर्न नसकेको उनको भनाइ छ।
यो सडकमा जिल्ला विकास समितिले पनि करोडौँ खर्च गरेको छ।
अहिले प्यासिफिक कर्ण कन्स्ट्रक्सन र खड्का कृष्ण सुपरस्टार जेभीले सेरी र पान्तडीबाट कामको लागि सम्झौता गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख रामचन्द्र बिसीले बताए।
उनले चार वर्षमा ट्र्याक खोलिसक्ने गरी सम्झौता भएको बताए।
सेरीघाट खण्डमा हालसम्म ३० प्रतिशत मात्र काम भएको उनको भनाइ छ।
प्यासिफिक कर्ण कन्स्ट्रक्सनका इन्जिनियर अर्जुन गौतमका अनुसार सेरीदेखि पान्तरीको ९ किलोमिटर ट्र्याक खोल्ने काम भइरहेको छ।
‘कर्ण कन्स्ट्रक्सनले ३ लाख घनमिटर मोटो, १ लाख घनमिटर कडा चट्टान, १५ हजार जालीको काम गर्नुपर्नेछ।
१० हजार जालीको काम सम्पन्न भएको छ भने हालसम्म जम्मा १० किलोमिटर सडक निर्माणका लागि ट्र्याक खुला गरिएको छ,’ गौतमले भने।
कम्पनीले काम छिटो गर्ने लक्ष्य राखे पनि वर्षमा पाँच करोडभन्दा बढीको काम गर्न नदिएकाले सडक निर्माणमा ढिलाइ भएको उनको भनाइ छ।
सडकको ग्याबिन पाइपको काम पनि भइरहेको उनले जनाए।
पहिला नेपाली सेनाले जिम्मा लिएको उक्त खण्डअन्तर्गत धेरै चट्टान भएको कारण सेनाले काम नगरेपछि निर्माण कार्यले गति लिन नसकेको स्थानीयको गुनासो छ।
२३ किलोमिटर सडकको अहिलेसम्म दुवैतर्फबाट गरी ११ किलोमिटर मात्र ट्र्याक खोलिएको र अझै १२ किलोमिटर खन्न बाँकी रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।
जनतालाई काम गर्दै गरेको आभास हुने, तर काम सम्पन्न नगर्ने मनसायका साथ निर्माण कम्पनीले काम थाल्दा जनताले कहिले उक्त सडक सहज रूपमा उपभोग गर्न पाउँछन् र भन्ने गम्भीर प्रश्न छ।
शुभकालिका गाउँपालिकाले पनि यो सडक निर्माण गर्दा अहिलेसम्म धेरै रकम खर्च भएको पालिका अध्यक्ष गोविन्द्रप्रसाद आचार्यले बताए। उनले सडक छिटो निर्माण गर्न पहल गर्ने बताए।
महाबै खण्डमा झनै ढिलाइ
सेरी–पान्तडीअन्तर्गत महाबै खण्डमा ठेकेदारको लापरबाहीले काममा झनै ढिलाइ भएको छ। खड्का कृष्ण सुपरस्टार जेबीले पाएको काम सुरु गरिए पनि अहिलेसम्म सम्पन्न भएको छैन।
ठेकेदार तारा शाह चट्टान धेरै हुँदा ढिलो भएको बताउँछिन्। उनले तीन वर्षयता काम सुरु गरेकी छैनन्।
महाबै खण्डको भिर काट्ने जिम्मा आफूले पाएको, तर भुक्तानी नपाउँदा अहिले काम नभएको शाहले बताइन्।
अघिल्लो वर्ष १८ महिना काम गरेर ९ लाख मात्र भुक्तानी भएको उनको भनाइ छ।
उनले ४३ लाखको खर्च लागेको, तर कम भुक्तानी हुँदा पनि आफूलाई काम गर्न समस्या भएको सुनाइन्।
खड्का कृष्ण सुपरस्टार जेभी निर्माण सेवाले जिम्मा लिएको चार वर्षसम्म दुई किलोमिटर मात्र सडक खनिएको छ।
४ करोड ५६ लाखमा कामको जिम्मा पाएको निर्माण सेवाले तीनपटक म्याद थप गरिसकेको छ।
तीन वर्षअघि गरेको कामको २ करोड रकम भुक्तानी भएको पूर्वाधार विकास कार्यालय कालिकोटले जनाएको छ।
ठेकेदार कम्पनीको ढिलाइले समयमै निर्माण हुन नसकेको महाबै गाउँपालिका अध्यक्ष खेमबहादुर सिंह बताउँछन्।
यो सडक निर्माणको लागि पूर्वाधार विकास कार्यालयले अनुगमनसमेत गर्ने नगरेको स्थानीयको गुनासो छ। उक्त सडक खण्ड मान्म हुँदै सेराबाडा पुग्नभन्दा १३ किलोमिटर छोटो हुनेछ।
यो सडक निर्माणको लागि सरकारले धेरै बजेट छुट्याउने र ठेकेदारले घटेर लिने गरेको कारण पनि समस्या भएको स्थानीयको भनाइ छ।