विद्युतीय भ्यान चलाएर महिनामै ९८ हजार कमाइ!

काठमाडौं- विद्युतीय भ्यानको सबैभन्दा सबल पक्ष नियमित सञ्चालन खर्च पेट्रोलियम भ्यानको तुलनामा न्यून हुनु हो।

यसका साथै पछिल्लो समय प्रविधिको विकास र प्रतिस्पर्धी बजारका कारण मूल्यसमेत कम हुँदै गएको छ।

त्यसैले मध्यम तथा छोटो रुपमा विद्युतीय भ्यानको प्रयोग बढ्न थालेको छ।

ब्याट्री फेर्ने लागत कति लाग्छ अहिले नै यकिन भइसकेको छैन। यसले विद्युतीय भ्यान तथा माइक्रोबस सञ्चालन गर्ने व्यवसायीहरुमा सन्देह पैदा गरिरहेको भएपनि सञ्चालन खर्चले भने उनीहरुलाई आकर्षित गरिरहेको छ।

निश्चित समय कम्पनीले ब्याट्री तथा मोटरमा वारेन्टी दिने भएकाले व्यवसायीहरु केही आश्वस्त देखिन्छन्।

प्रतिस्पर्धा बढ्दै गएकाले वारेन्टीको समय पनि कम्पनीहरुले बढाउँदै लगेका छन्, जसले व्यवसायीहरुलाई विद्युतीय भ्यान/माइक्रोबस चलाउन थप आकर्षित गरिरहेको छ।

विद्युतीय भ्यान तथा माइक्रोबस र पेट्रोलियमबाट चल्ने माइक्रोबस तथा भ्यानको भाडादर समान रहेको छ।

उठेको भाडाबाट पेट्रोलियम भ्यान तथा माइक्रोबस सञ्चालनका लागि ठूलो रकम डिजेल/पेट्रोल खरिदमा जाने हुनाले बचत कम हुन्छ भने विद्युतीय मोइक्रोबस तथा भ्यानका लागि ज्यादै न्यून मूल्यको बिजुली भए पुग्छ। सोही कारण विद्युतीय भ्यानको सञ्चालन बचत धेरै हुन्छ।

इटहरीबाट भोजपुर चल्ने विद्युतीय भ्यानको मासिक सञ्चालन खर्च तथा आम्दानीको हिसाबकिताबले उक्त कुराको पुष्टि गर्छ।

इटहरीदेखि भोजपुरसम्मको रुटमा ११ सिट क्षमताको विद्युतीय भ्यान एक महिनामा ४ हजार ४ सय ४ किलोमिटर कुदेको छ।

उक्त यात्रा तय गर्न सो भ्यानले एक महिनामा १८ हजार ७ सय १५ रुपैयाँको बिजुली खपत गरेको छ।

यो यात्रामा उक्त भ्यान सञ्चालनका लागि प्रतिकिलोमिटर लागत ४ रुपैयाँ ४५ पैसा परेको छ।

सो भ्यानले बाटोमा रहेको निजी चार्जिङ स्टेसनका लागि ९ हजार ३ सय रुपैयाँ, विद्युत प्राधिकरणको चार्जिङ स्टेसनका लागि २५ सय रुपैयाँ र घरमै रहेको स्लो चार्जिङ बापत ६ हजार ९ सय १५ रुपैयाँ बिजुलीको पैसा तिरेको छ।

सो विद्युतीय भ्यानको चालकका लागि २५ हजार रुपैयाँ तलब/भत्ता उपलब्ध गराइएको छ भने सडक तथा पार्किङ शुल्कमा ३ हजार ८ सय २० रुपैयाँ र नियमित चेकजाँच तथा वासिङलगायतका लागि मासिक ५ हजार रुपैयाँ खर्च गरिएको छ।

चालकसहित अन्य खर्चमा ३३ हजार ८ सय २० रुपैयाँ र इन्धनको रुपमा बिजुली लागि १८ हजार ७ सय १५ रुपैयाँ गरेर कुल मासिक सञ्चालन खर्च ५२ हजार ५ सय ३५ रुपैयाँ खर्च भएको छ।

इटहरीदेखि भोजपुरसम्म एक महिना ११ सिट क्षमताको विद्युतीय भ्यान चलाएर एक्सन राईले भाडाबापत १ लाख ५१ हजार ६५ रुपैयाँ आम्दानी गरेका छन्।

राईले चलाएको विद्युतीयको यो हिसाबकिताबको सर्भे नेपाल विद्युत प्राधिकरणले गरेको हो।

सो आम्दानीमा उनले चालकसहति (इन्धन)चार्जिङमा गरेका खर्च र अन्य खर्चसमेत गर्दा मासिक ५२ हजार ५ सय ३५ रुपैयाँ खर्च गरेका थिए।

कुल आम्दानीबाट खर्च घटाउँदा उनले मासिक रुपमा ९८ हजार ५ सय ३० रुपैयाँ सञ्चालन बचत गरेका छन्।

उनले ११ सिट क्षमताको विद्युतीय भ्यान ४५ लाख ५० हजार रुपैयाँमा खरिद गरेका हुन्।

उनले भ्यान किनेको कम्पनीले सो भ्यानको ब्याट्रीमा २ लाख किलोमिटर वारेन्टी दिएको छ।

राईले बैंकबाट फाइनान्स गरेर उक्त भ्यान खरिद गरेकाले मासिक किस्ताका रुपमा ५२ हजार २ सय रुपैयाँ बैंकमा बुझाउनुपर्छ।

गाडीको पेब्याक पिरियड ४ वर्षभन्दा कम हुने अपेक्षा राईले गरेका छन्।

सञ्चालन खर्च न्यून हुनाले मासिक बचत उल्लेख्य भएकाले विद्युतीय भ्यान चलाएर ब्याट्रीको वारेन्टी समयमा राम्रो रकम संकलन हुने उनको विश्वास छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *