हङकङमा कार्यरत युवाको सहयोगमा गाउँमा नि:शुल्क एम्बुलेन्स सेवा

विराटनगर — रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले आफू हुर्केको गाउँका विपन्न परिवारलाई नि:शुल्क सेवा दिन एम्बुलेन्स उपलब्ध गराएका छन् ।

रोजगारीका लागि हङकङ पुगेका उर्लाबारीका ९४ जना युवाले एम्बुलेन्स खरिदका लागि हङकङ उर्लाबारी परिवारका नाममा २५ लाख ५० रुपैयाँ उपलब्ध गराएपछि वडा नं ९ का विपन्न परिवारका लागि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ ।

उक्त एम्बुलेन्स उर्लाबारी नगरपालिका-९ मा रहेको दुर्गापुरी उपस्वास्थ्य चौकी मातहतमा सञ्चालन गरिएको छ ।

वडा अध्यक्ष नरवहादुर मोक्तानका अनुसार कार्यविधि बनाएर वडाका विपन्न परिवारलाई परिचयपत्र तिरण गरेर नि:शुल्क र अन्य सर्वसाधारणलाई २० प्रतिशत छुटमा एम्बुलेन्स सेवा उपलब्ध गर्ने तयारी गरिएको छ ।

उनका अनुसार विपन्न परिवारलाई नि:शुल्क एम्बुलेन्स सेवा दिँदा नगरपालिकाले इन्धनको प्रबन्ध गर्ने छ ।

एम्बुलेन्स खरिदका लागि हङकङमा रहेका याम सेम्बु एक्लैले ५ लाख ३० हजार उपलब्ध गराएका र उनी सहित साङगेहाङ तुम्बाहाम्फेको सक्रियतामा उक्त रकम संकलन भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *