समीक्षा अवधिमा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको खर्च औसतमा २३.६१ प्रतिशत देखिएको छ ।
चालू आवमा निर्माणाधीन २१ राष्ट्रिय गौरवका आयोजना र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाममा ६५ अर्ब ६४ करोड १४ लाख बजेट विनियोजन भएको छ ।
त्यसमा पुस मसान्तसम्म १५ अर्ब ५० करोड आठ लाख रुपैयाँ मात्रै खर्च भएको छ, जुन लक्ष्यको २३.६१ प्रतिशत मात्रै हो ।
६ महिनामा ४५–५० प्रतिशतसम्म खर्च हुनुलाई राम्रो मानिन्छ । तर, राष्ट्रिय गौरवकै आयोजनाको खर्च भने न्यून देखिएको छ । पूर्वसचिव देवेन्द्र कार्कीले यो दरको खर्चलाई सन्तोषजनक मान्न नसकिने बताए ।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले काम भए पनि बजेट अभावका कारण खर्च गर्न नसकेको बताए ।
कतिपय ठाउँमा बजेट नहुँदा पनि, काम नहुँदा यस्तो समस्या आएको उनको भनाइ छ । ‘अर्थ मन्त्रालयले बजेट व्यवस्थापन गर्न नसक्दा यस्तो समस्या आएको हो ।
निर्माण कम्पनीलाई गत आवकै दायित्व भुक्तानी गर्न बाँकी छ । बजेट नभएको ठाउँमा काम भएको छ ।
बजेट भएको ठाउँमा काम भएको छैन । त्यस्तो शीर्षकमा भएको बजेट रकमान्तर गर्न अर्थ मन्त्रालयलाईअनुरोध गरेका छौँ ।
तर, अर्थ मन्त्रालयले त्यसमा ढिलाइ गरेको छ,’ उनले भने, ‘त्यसले गर्दा उत्तर–दक्षिण करिडोरलगायतका आयोजनामा धेरै खर्च देखिएको छैन ।
अर्थ मन्त्रालयले तत्काल ६ अर्ब रुपैयाँ निकासा गर्न लागेको जानकारी आएको छ, त्यो पैसा आएपछि हामीलाई दायित्व भुक्तानीमा सहज हुनेछ । साथै, खर्च पनि बढ्नेछ ।’