नेपाल वायुसेवा निगम (नेवानि)को भद्रगोल व्यवस्थापनका कारण एउटा न्यारोबडी जहाज सात महिनाको अवधिमा पाँच महिनाभन्दा बढी ग्राउन्डेड भएको छ ।
निगमको ९एन–एकेएक्स कलसाइन नम्बरको एयरबस–३२० जहाज एकपछि अर्को इन्जिनमा समस्या आउँदा ३१ असारदेखि १ फागुनसम्म दुई सय १२ दिनमा पटक–पटक गरी एक सय ५२ दिन ग्राउन्डेड भएको हो ।
एकेएक्स पछिल्लो पटक १३ मंसिरमा ग्राउन्डेड भएको पनि ७७ दिन पुगिसकेको छ ।
यसअघि यही जहाज दायाँ पखेटाको इन्जिनमा समस्या देखिएर ३१ असारदेखि ११ असोजसम्म ७५ दिनसम्म ग्राउन्डेड गरिएको थियो ।
अहिले बायाँ पखेटाको इन्जिनमा समस्या देखिएर बैंककबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै जहाज ग्राउन्डेड अवस्थामा छ ।
सो जहाज कहिलेबाट नियमित उडानमा फर्किन्छ भन्नेमा निगम नेतृत्व नै अनभिज्ञ छ ।
इन्जिन फेर्न भन्दै २६ पुसमा इजरायल पठाएको जहाज ३३ दिनदेखि उतै थन्किएको छ । यही जहाज अघिल्लोपटक बिग्रँदा ३१ भदौमा दायाँ पखेटाको इन्जिन मर्मत गर्नलाई इजराइलमै छाडिएको थियो ।
सोही समयमा इजरायल एरोस्पेस इन्डस्ट्रिज (आइएआई)ले उपलब्ध गराएको भाडाको इन्जिन जडान गरेर जहाज नियमित उडानमा फर्किएको थियो ।
पछिल्लोपटक बायाँ इन्जिनमा पनि समस्या आएपछि एकेएक्सका दुवै पखेटामा रहेका इन्जिनको मर्मत भइरहेका छन् ।
सीमित जहाज भएको नेवानिले व्यस्त सिजनमा यात्रु बोक्नुपर्ने जहाजलाई एक सय ५१ दिनसम्म पार्किङ गरेर राख्दा करिब दुई अर्ब रुपैयाँ आम्दानी गुमाएको छ ।
एउटा न्यारोबडी जहाज ग्राउन्डेड हुँदा दैनिक करिब एक करोड १५ लाख रुपैयाँ आम्दानी गुम्ने निगमको वित्तीय विवरणले देखाउँछ ।
निगम व्यवस्थापनले १२ जुन २०२३ मा सार्वजनिक टेन्डर आह्वान गरेर लिजसहित इन्जिन मर्मत गर्न भन्दै चार वर्षसम्मका लागि आइएआईलाई मेन्टेनेन्स, रिपेयर, ओभरहल (एमआरओ) नियुक्त गरेको छ ।
३१ भदौमा छाडेको इन्जिन पाँच महिना बित्दा पनि सो कम्पनीले अझै मर्मत गरिदिएको छैन ।