सरकारले सवारी तथा यातायात व्यवस्था ऐन संशाेधन गर्दैछ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार सवारी तथा यातायात व्यवस्था विधेयक-२०८० को मस्यौदा निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
सवारी क्षेत्रमा विभिन्न परिवर्तनहरू भइरहेका छन्।
चलायमान रहने यो क्षेत्रको तीन दशकभन्दा अघिको सवारी तथा यातायात व्यवस्था ऐन-२०४९ लाई संशोधन गर्दै सवारी तथा यातायात व्यवस्था ऐन-२०८० जारी गर्न लागिएको हो।
मोटरसाइकल वा अन्य दुईपांग्रे सवारी साधन चलाउँदा चालक र यात्रु दुवैले हेल्मेट लगाउनुपर्ने व्यवस्था पनि मस्यौदामा छ।
सरकारले दुईपांग्रेमा सवार दुवैलाई हेल्मेट अनिवार्य गर्न खोजेको धेरै भइसक्यो।
‘डबल हेल्मेट’ को प्रावधान राजा ज्ञानेन्द्र शाहको सक्रिय शासनकालमा तत्कालीन स्वास्थ्यमन्त्री डा. उपेन्द्र देवकोटाको पहलमा लागू भएको थियो।
न्यूरोसर्जन देवकोटाले दुर्घटना हुँदा पछाडि बस्नेको टाउकोमा चोट लागेर ज्यान जाने गरेको अनुभवका आधारमा यो नियम सिफारिस गरेका थिए। त्यति बेला प्रभावकारी कार्यान्वयन हुन थालिसकेको नियम वर्ष दिन पनि टिकेन।