२०८० तिहार लगत्तैको कुरा हो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग पोखरा विमानस्थल निर्माण सम्बन्धी कागजात माग्यो ।
पटक–पटकको आग्रहमा पनि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले कागजात दिन आलटाल गरे । अख्तियारको टोलीले उनलाई कार्यालयमै बोलायो ।
प्रहरी महाशाखाका प्रमुख समेत रहने डीआईजीको उपस्थितिमा अख्तियार प्रमुख प्रेमकुमार राईले ‘मागेका आवश्यक कागजात उपलब्ध गराएर सहयोग गर्न’ अधिकारीलाई आग्रह गरे ।
उनले भने, ‘तपाईंहरूले सरल तरिकाले हाम्रो आग्रह सम्बोधन गर्नुहोस्, असहयोग भयो भने आयोग वैकल्पिक तरिका प्रयोग गर्न बाध्य हुन्छ ।’
छलफलमा सहभागी एक स्रोतका अनुसार, उनले वैकल्पिक तरिका भनेर बोल्दा प्रहरी महाशाखा प्रमुखतिर इशारा गरेका थिए ।
अनि मात्रै नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा विमानस्थल निर्माण प्रक्रियाका कागजात र विवरणहरू उपलब्ध गरायो ।
अख्तियारका एकजना इन्जिनियरले भने, ‘भौतिक निर्माणमा हालसम्मकै ठूलो अनियमितता देखिएको छ, नेतृत्वले आँट गर्यो भने एउटा राम्रो नतिजा आउनेछ ।’
पोखरा विमानस्थल निर्माणमा भएको शंकास्पद कामबारे बुझ्न हामीले महालेखा परीक्षकको कार्यालयका एक जना लेखापरीक्षक, पोखरा विमानस्थल आयोजनामा काम गरेका एक इन्जिनियर र अख्तियारका एक प्राविधिकसँग छलफल गरेका थियौं ।
उनीहरूका अनुसार, विमानस्थल निर्माणका दौरान भएका अनियमितताको रकम अहिलेसम्मकै उच्च हुनसक्ने अनुसन्धानमा संलग्नहरू बताउँछन् ।