केही दिन अगाडि महानगरले न्युरोडभित्रका धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताललगायत क्षेत्रका कालोपत्रे सडकमा पार्किङ निषेध गरेको थियो।
न्युरोड भित्रका कालोपत्रे सडकमा पार्किङ हटाएको महानगरले पुरानो बसपार्कमा रहेको काठमाडौं टावर र धरहराको अन्डरग्राण्उडमा निःशुल्क पार्किङस्थल तोकेको थियो।
निर्माणाधीन धरहरामा अन्डरग्राउन्ड पार्किङको व्यवस्था गरेसँगै सहरी विकास मन्त्रालयले तत्काल पार्किङ रोक्न भन्दै काठमाडौं महानगरपालिकालाई पत्र पठाएको छ।
गत बिहीबार सहरी विकास मन्त्रालयका प्रवक्ता विनु बज्राचार्य कुँवरले हस्ताक्षर गरेको पत्र महानगरलाई पठाउँदै मन्त्रालयले पार्किङ रोक्न निर्देशन दिएको थियो।
मन्त्रालयद्वारा प्रकाशित पत्रमा भनिएको छ, ‘निर्माणाधीन धरहराको भूमिगत पार्किङमा काठमाडौं महानगरले मन्त्रालय, विभाग र आयोजना तथा निर्माण कम्पनीसँग कुनै सहकार्य नगरी एकतर्फी ढंगबाट पार्किङ सुविधा उपलब्ध गराएकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ।’
यसका साथै पार्किङ सुविधाबाट आयोजनामा क्षति हुनसक्ने तथा संरचना तोडफोड हुने सम्भावना रहेको बताइएको छ।
पार्किङ गर्ने कार्य तत्काल बन्द गरी आयोजनालाई समयमै सम्पन्न गर्ने कार्यमा सहयोग गरी दिनका लागि निर्देशनसमेत दिएको छ।
यस्तै आशयको पत्र महानगरलाई सोमबार पनि प्राप्त भएको छ। सहरी विकास मन्त्रालय भवन निर्माण केन्द्रीय आयोजना कार्यान्वयन एकाइका निमित्त आयोजना निर्देशक झप्पर सिंह विश्वकर्माद्वारा काटिएको पत्रमा पार्किङ बन्द गर्न निर्देशन दिइएको छ।
उक्त पत्रमा भनिएको छ, ‘निर्माण सम्पन्न हुने चरणमा पुगेको अवस्थामा एकाएक यस इकाई वा यस एकाइको तालुक निकायहरूसँग कुनै समन्वय एवं जानकारी नै नगरी त्यहाँबाट एकतर्फी ढंगले एक तला भूमिगत पार्किङ ख्ला गरिनु उचित छैन।’
यसरी एक्तिर्फ पार्किङ खुला गर्दा आयोजना निर्माणमा असर पुग्ने, पार्किङ एरियामा आवस्यक संरचना निर्माण भै नसकेकाले निस्सासिएर मानविय क्षति हुन सक्ने, सामानहरू टुटफट हुनसक्ने भन्दै महानगरलाई पत्र पठाएको छ।