भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला गणेशमान सिंह मार्ग (थानकोट–चन्द्रागिरि– चित्लाङ) सडक अवलोकन गर्न पुगेका छन् ।
बुधबार चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीसहित मन्त्री ज्वाला उक्त सडक अवलोकन गर्न पुगेका हुन् ।
बजेट अभावका कारण धराप थापेको भन्दै सरकारको आलोचना भएपछि चालु आर्थिक वर्षमै काम हुने गरी ५ करोड ९९ लाख रुपैयाँ १२ माघमा अर्थ मन्त्रालयले दिने तय भएपछि मन्त्री ज्वाला अनुगमनमा पुगेका हुन् ।
अर्थ मन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयलाई पत्राचार गरी आगामी आर्थिक वर्षका लागि सिर्जना हुने दायित्व बराबर रकमको स्रोत सुनिश्चित गर्दै बजेट खर्च गर्न सहमति प्रदान गरिसकेको छ ।
उक्त सडक हेर्ने डिभिजन सडक कार्यालय काठमाडौंले चालु आर्थिक वर्षका लागि २२ करोड रुपैयाँ माग गरे पनि २ करोड रुपैयाँमात्र पाएको थियो ।
अनुगमन र निरीक्षणपछि मन्त्री ज्वालाले बजेटको सुनिश्चितता भइसकेपछि स्तरोन्नतिले तीव्रता पाउनुपर्ने बताए ।
रौतहट चन्द्रपुर, बारा निजगढ, पर्सा वीरगञ्ज, मकवानपुर हेटौंडा र थाहा नगरलगायत स्थान जाने छोटो दुरीको मार्ग चन्द्रागिरि सडकमा दैनिक हजारौं यात्रु जोखिम मोलेर हिँड्ने गरेका छन् ।
सरकारले थानकोट–चन्द्रागिरि–चित्लाङ सडक खण्डमा धराप थापेको भन्दै सवारी चालक, यात्रु र स्थानीयले विरोध गर्दै आएका थिए ।
३ माघमा अभावका कारण दैनिक हजारौंले जोखिम मोलेर यात्रा गर्नुपरेको भन्दै मकवानपुरका नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर ध्यानाकर्षण गराएका थिए ।
जवाफमा प्रचण्डले थानकोट–चन्द्रागिरि–चित्लाङ सडक स्तरोन्नति गर्न बजेट व्यवस्थापन हुने बताएका थिए ।
डिभिजन सडक कार्यालय काठमाडौं प्रमुख नारायणदत्त भण्डारीका अनुसार थानकोट–चन्द्रागिरि–चित्लाङ सडक खण्डको २२ किलोमिटरमध्ये चार किलोमिटर अत्यन्तै जोखिमपूर्ण उकालो छ ।
२८ पुसमा काठमाडौंबाट थानकोट–चन्द्रागिरि हुँदै चित्लाङ गइरहेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको थियो ।