चक्रपथ विस्तारको दोस्रो खण्ड अलपत्र

काठमाडौं उपत्यकाको साढे २७ किलोमिटर लामो रिङरोडमध्ये कलंकी–कोटेश्वर खण्ड (साढे १० किलोमिटर) सडक फराकिलो बनेको पाँच वर्ष बितिसकेको छ ।

चीनको आर्थिक तथा प्राविधिक सहयोगमा बनिरहेको रिङरोडको दोस्रो खण्ड भने अहिले अलपत्र अवस्थामा छ ।

चक्रपथ विस्तारको दोस्रो चरणमा कलंकी स्युचाटारदेखि बसुन्धरा कल्भर्टसम्मको सडक निर्माण गर्ने भनिएको थियो ।

तर, नेपाल र चीन दुवैको हेलचेक्र्याइँका कारण काम अगाडि बढ्न पाएको छैन । चीनको सरकारी कम्पनी सांघाई कन्स्ट्रक्सन गु्रपले २०७० देखि रिङरोड विस्तारको काम अघि बढाएको थियो ।

खासगरी सरकारले यो खण्डमा पर्ने सडकको साइट क्लियर गर्न नसक्दा निर्माणको काम सुरु हुन नसकेको हो ।

२०७६ फागुनमा सरकारले साइट क्लियर गरेर निर्माण कम्पनीलाई सडक विस्तारको जिम्मा दिने योजना बनाइएको थियो । तर, यसबीच आन्तरिक प्राविधिक तथा कोभिडका कारण सडक निर्माणमा ढिलाइ हुँदै आएको छ ।

कलंकीदेखि महाराजगञ्जसम्मको सडक चीनले पूर्व सम्भाव्यता अध्ययन पूरा गरिसकेको छ ।

सडक निर्माणका लागि कम्पनीले प्रारम्भिक अध्ययन तयार गरेको छ । कम्पनीले सुरुमा काम थाल्न सरकारलाई सडक सीमा क्षेत्र खाली गराउन पटक–पटक अनुरोध गरेको थियो ।

सरकारले साइट क्लियर गरेको अहिले एक वर्ष भएको छ, तर सडक विस्तारको कामले गति लिएको छैन ।

सुरुमा सरकारले साइट क्लियर गर्न सकेन भने अहिले चिनियाँ पक्षले काम सुरु गरेको छैन ।

२०७९ फागुनमा यो सडक खण्ड निरीक्षणमा गएका बेला नेपालका लागि चिनियाँ राजदूत छङ सोङले ६ महिनाभित्रमा आयोजना विस्तारका लागि जनशक्ति परिचालन हुने बताएका थिए ।

त्यसबेला राजदूत सोङसहित तत्कालीन भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठ, सचिव, सडक विभागका महानिर्देशक, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र काठमाडौं महानगरपालिकाका मेयरसहितको टोलीले आयोजनाको स्थलगत अध्ययन गरेको थियो ।

उच्चस्तरीय टोलीले काम सुरु गर्ने भनेको एक वर्ष पूरा हुन लागेको छ ।

सडक विस्तारका लागि विगतमा दुवै मुलुकका प्राविधिक बसेर आयोजनामा भएको समझदारीअनुसार छलफल भएको तर त्यसपछि चिनियाँ पक्षसँग समन्वय नभएको भौतिक पूर्वाधार मन्त्रालयको भनाइ छ ।

सडक विस्तारका लागि चिनियाँ पक्ष प्रक्रियामा नै रहेकाले ढिलाइ भएको सडक विभाग अन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख विजय जैशीले बताए । उनले भने, ‘दुवै पक्षबीच छलफल भएको ७ महिना भयो ।

चिनियाँ पक्षले उच्चस्तरीय तहमा कर्जा स्वीकृत गर्नुपर्ने भएकाले प्रक्रियामा छ ।’ उनका अनुसार कर्जा स्वीकृत भएपछि ठेक्का आह्वान भएर निर्माणको काम थाल्नेछ ।

चीन कर्जा स्वीकृत गर्ने प्रक्रियामा रहेकाले कति समय लाग्छ भन्ने यकिन छैन । ‘हामीले घचघच्याइरहेका छौं ।

सडक विस्तारको पूर्ण डीपीआर तयार गरेपछि कति लागत लाग्ने र कहिले पूरा हुने आधार बन्छ,’ उनले भने । अहिलेसम्मको योजनाअनुसार ६२ मिटर चौडाइमा सडक विस्तार गरिनेछ ।

केन्द्रबाट दायाँबायाँ दुवैतर्फ ३१ मिटर रहनेछ र सडक ५० मिटरमा विस्तार हुनेछ ।

बीचमा डिभाइडरसहितको ४ लेन र दायाँबायाँ २-२ मिटरको सर्भिस लेन गरी ८ लेनको सडक निर्माण हुनेछ ।

बाँकी १२ मिटर चौडाइमा साइकल र पैदल यात्रुका लागि एक-एक लेन हुनेछ ।

सरकारले निर्माण गर्ने सर्भिस लेन भने स्युचाटारदेखि बसुन्धरासम्म ठेक्का आह्वान भएर लागेको छ ।

तर, बजेट अभावका कारण कामले गति लिन सकेको छैन । सरकारले निर्माण गर्नुपर्ने सर्भिस लेन बनाउँदै गर्ने भनेर काम अघि बढाइएको हो । तर, बजेट नहुँदा काम प्रभावित बनेको छ ।

सडक विभागले बजेट अभावका कारण सर्भिस लेनको काम प्रभावित भएको भन्दै अर्थ मन्त्रालयसँग बजेट माग गरेको छ । अर्थले अहिलेसम्म बजेट दिएको छैन ।

सरकारले यो सडक खण्ड विस्तारका लागि गएको आर्थिक वर्षमा एक अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

चालु वर्षमा भने २ अर्ब ५ करोड ८१ लाख विनियोजन गरिएको छ । साढे आठ किलोमिटर लामो यो सडक खण्ड २ वर्षभित्रै सक्ने तथा ६ अर्ब लागत लाग्ने अनुमान छ ।

२०३२ सालमा चीनकै सहयोगमा साढे २७ किलोमिटर लामो चक्रपथ निर्माण गरिएको थियो । यसको विस्तार पनि चीनकै अनुदानमा अघि बढाइएको हो ।

चक्रपथ विस्तार गर्न आर्थिक तथा प्राविधिक सहयोगका लागि २३ डिसेम्बर २०१० मा नेपाल र चीनबीच हस्ताक्षर भएको थियो ।

त्यसपछि चीनले सांघाई निर्माण समूहलाई यसको जिम्मेवारी दिएको थियो । यो समूह र भौतिक पूर्वाधार मन्त्रालयबीच १८ डिसेम्बर २०१२ मा निर्माण गर्ने सहमति भएको थियो ।

यसको इन्जिनियरिङ डिजाइन र प्राविधिक डकुमेन्ट ‘द थर्ड रेलवे सर्वे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुप कर्पोरसन’ ले गरेको हो ।

नेपाली समूहको सहयोगमा चिनियाँ टोलीले सडक डिजाइन तयार गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *