पेट्रोलियमको मूल्य वृद्धि

नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । बुधबार मध्यरातदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको हो ।

भारतको इन्डियन आयल कर्पाेरेसनबाट भाउ बढेर आएपछि निगमको सञ्चालक समितिले यस्तो निर्णय गरेको हो ।

पेट्रोलमा प्रतिलिटर चार रुपैयाँले मूल्य बढेर एक सय ७० रुपैयाँ पुगेको छ ।

त्यस्तै, डिजेल र मट्टीतेलको भाउ लिटरमा दुई रुपैयाँले बढाएर एक सय ५८ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डरमा १५ रुपैयाँले बढेर एक हजार नौ सय १० रुपैयाँ कायम भएको छ ।

ग्यासबाहेकको अरू इन्धनको यो मूल्य काठमाडौं, पोखरा र दिपायलमा लागू हुन्छ ।

दोस्रो वर्गमा रहेको सुर्खेत र दाङको हकमा यो लिटरमा एक रुपैयाँ सस्तो हुन्छ ।

दोस्रो वर्गको तुलनामा पहिलो वर्गमा रहेको चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, धनगढी र वीरगन्जमा यी इन्धनको मूल्य लिटरमा दुई रुपैयाँले कम पर्छन् ।

भारतबाट पेट्रोल लिटरमा ४.५३ रुपैयाँले र डिजेल २.३२ रुपैयाँले बढेर आएको थियो ।

त्यस्तै, एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५.७८ रुपैयाँले बढेर आएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *