चाबहिल बस्ने भीमराज श्रेष्ठ बुधबार सुन्धारास्थित धरहरासँगै बनेको भवनको भूमिगत पार्किङमा मोटरसाइकल पार्किङ गरेर न्युरोड पुगे ।
पहिलोचोटि धरहराको ‘बेसमेन्ट’ मा पार्किङ गरेका श्रेष्ठले आधा घण्टामा आफ्नो काम गरेर आफ्नो सवारीसाधन लिएर फर्किए ।
महानगरपालिकाले धरहरामा निःशुल्क पार्किङ दिएकोमा खुसी व्यक्त गर्दै उनले दुई वर्षअघि गतिलो ठाउँमा मोटरसाइकल पार्किङ नगर्दा हराएको बताए ।
‘महानगरले गरेको काम एकदम ठिक छ । न्युरोड जान ५–७ मिनेट समय लाग्छ, तर निःशुल्क र सुरक्षित पार्किङ गर्न पाउने भएपछि अरू कुरामा थप तनाव भएन,’ श्रेष्ठले भने ।
न्युरोड आइरहने उनले काठमाडौंका अन्य स्थानमा पनि सरकारले नै अपनत्व लिएर पार्किङ बनाए जनताले धेरै सुख पाउने बताए ।
‘न्युरोडमा पहिले पार्किङका नाममा लुट चलिरहेको थियो । पार्किङको ठेक्का लिनेले बदमासी गरेका थिए ।
अब त्यो हटेको छ, बरु महानगरले यही पार्किङ व्यवस्थित गरे हुन्थ्यो,’ उनले भने ।
उनीजस्तै सुधा कोइरालाले धरहराको पार्किङले गर्दा सहज भएको बताइन् ।
‘यत्रो ठूलो पार्किङ रहेछ, तर यहाँ एउटा स्कुटर राख्न एक घण्टा ठाउँ खोजेर पनि पैसा दिनुपथ्र्यो,’ उनले भनिन्, ‘अहिले त धेरै नै सहज भएको छ नि ! एक त सजिलै पार्किङका लागि ठाउँ बनेको छ ।
अर्को, महानगरकै प्रहरी डिउटीमा हुने भएपछि सुरक्षित पनि हुने भइहाल्यो । पैसा पनि बचत भयो ।’
सुन्धारामा पार्किङ गरेर वीर अस्पताल बिरामी भेट्न जान लागेका श्यामकृष्ण तिवारी पनि उनीहरूजस्तै खुसी छन् ।
‘अस्पताल आउँदा पहिले–पहिले पार्किङको कत्रो समस्या हुन्थ्यो । कहिलेकाहीँ बिरामी कुरुवालाई पालो दिउँ भनेर बस्दा सयौंको बिल देखाउँथे, तर अब धरहरामा पार्किङ गर्यो, एकछिन हिँड्यो । यही ठिक छ, बालेनले राम्रो गरेका छन्,’ तिवारीले भने ।