एकै व्यक्ति अधिकृतदेखि महानिर्देशकसम्म यातायातमै

एकै व्यक्ति अधिकृत, उपसचिव हुँदै महानिर्देशकसम्म यातायात व्यवस्था विभागमा बसेका छन्।

हाल विमानस्थल भन्सार कार्यालयका प्रमुख रहेका डा.टोकराज पाण्डे अधिकृतदेखि महानिर्देशक हुँदासम्म यातायात विभागकै कर्मचारी थिए।

‘उहाँको जागिरे जीवन हुलाक सेवाबाट सुरु भए पनि अधिकृत भएपछि यातायात व्यवस्था विभागमा लामो समय कार्यरत रहनुभयो,’ एक कर्मचारीले भने।

करिब ६ महिना यातायात व्यवस्था विभागको महानिर्देशक भएका पाण्डेलाई हाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेका सहसचिव तुलसीनाथ गौतमको ठाउँमा लगिएको थियो।

यातायात व्यवस्था विभागले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई बुझाएको छानबिन प्रतिवेदनमा डा. पाण्डेका पालामा १ हजारभन्दा बढी थान स्मार्ट लाइसेन्स अवैध ढंगले जारी भएको उल्लेख छ।

उनीहरू दुवै सहसचिवका पालामा झन्डै बराबर संख्यामा अवैध रूपमा लाइसेन्स वितरण भएको विवरण अख्तियारमा पुगेको छ।

गौतमको समयमा १ हजार १३६ र पाण्डेका पालामा १ हजार ८४ अवैध लाइसेन्स वितरण भएको विवरण अख्तियारमा पुगेका हो।

२०७९ भदौ २० देखि २०७९ माघ १४ सम्म यातायात व्यवस्था विभागको महानिर्देशक रहेका डा. पाण्डे कर्मचारीले सुशासन कायम गर्नुपर्छ भन्ने चर्चित सहसचिवमध्येका एक हुन्।

तर उनकै पालामा १ हजार ८४ थान लाइसेन्स अवैध ढंगले जारी भएको तथ्य फेला परेको हो।

डा. पाण्डे यातायातको महानिर्देशक हुँदा नवराज ढुंगाना नाम गरेका सेवाग्राहीले ट्रायलमा अनियमितता भएको भन्दै विभागमा निवेदन दिएका थिए।

तर डा. पाण्डेले त्यतिबेला निवेदनमाथि छानबिन आवश्यक ठानेनन्।

उनी २०५५ फागुन १६ गते हुलाकको खरिदारबाट सरकारी सेवामा प्रवेश गरेका थिए।

११ वर्ष गोश्वरा हुलाक कार्यालय काठमाडौंमा खरिदारका रूपमा काम गरेका उनी विशेष बढुवा लिएर २०६६ साउन १ गते हुलाकको नायब सुब्बा (नासु) भए।

गोश्वारा हुलाक कार्यालयमा दुई वर्ष नासुकै रूपमा काम गरेपछि उनी नेपाल प्रशासन सेवाको शाखा अधिकृतमा नाम निकाल्न सफल भएका थिए।

२०६८ भदौ २८ गते शाखा अधिकृतको नियुक्ति लिएका पाण्डे एक वर्षभन्दा बढी समय सामान्य प्रशासन मन्त्रालयमा बसेका थिए।

२०६९ कात्तिक २६ गते उनी तत्कालीन भौतिक योजना, निर्माण तथा यातायात व्यवस्था मन्त्रालय सरुवा भएका थिए।

त्यसपछि यातायात व्यवस्था विभाग हुँदै पाण्डेले यातायात कार्यालय साना–ठुला सवारी एकान्तकुनामा पनि काम गरेका थिए।

२०६८ भदौ २० देखि २०७४ साउन १९ सम्म करिब ६ वर्ष शाखा अधिकृत रहेका पाण्डे झन्डै पाँच वर्ष त यातायातमै थिए।

२०७४ साउनमा उपसचिव भएपछि फेरि उनी यातायातमै सरुवा भए। डा. पाण्डेले सहसचिव भएपछि मात्र यातायात छाडेका हुन्।

उपसचिव बनेको एक वर्ष नपुग्दै २०७५ जेठ १३ गते सहसचिवमा नियुक्ति लिएका उनी बाराको कलैया उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेका थिए।

२०७५ भदौ १७ गते काठमाडौं महानगरपालिकामा आएका उनी फागुन २८ गते रजिस्ट्रार भएर सहकारी विभागमा पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *