मिजोरम । भारतीय सीमामा म्यानमारको एउटा विमान दुर्घटना भएको छ । विमान म्यानमार सेनाको भएको बताइएको छ ।
दुर्घटनाको बेलामा विमानमा १४ जना सवार थिए । विद्रोहीहरूको हमलाबाट बच्नका लागि भागेर भारत आएका सेनाहरूलाई फर्काउन उक्त विमान आएको थियो ।
विमान मिजोरममा दुर्घटनामा परेको सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
अवतरणका क्रममा मिजोरम लेंगपुई विमानस्थलमा धावनमार्गबाट चिप्लिएर विमान भीरबाट खसेको थियो ।
यस घटनामा दुई जना गम्भीर घाइते भएको बताइएको छ । अन्य १२ जनालाई भने सामान्य चोटपटक लागेको छ । घाइतेहरूको लेंगपुई अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
पछिल्लो म्यानमारमा विद्रोही र त्यहाँको सेनाबिच झडप चलिरहेको छ ।
सेनामाथि विद्रोही भारी हुन थालेपछि सयौँ सेना भागेर भारतीय सीमामा रहेको मिजोरमको ल्वांग्ताई जिल्लामा आएका थिए ।
दुई दिन अघि २७६ जना सेना ल्वांग्ताई जिल्लामा आइपुगेको समाचारमा उल्लेख छ ।
सेनाको शिविरलाई विद्रोही समूह अराकन आर्मीको लडाकुहरूले कब्जा गरेका थिए ।
सोमबार १८४ जनालाई म्यानमार फिर्ता लगिएको थियो । बाँकी ९२ जनालाई मंगलबार लगिँदै थियो ।
Post Views: 204