चालु आर्थिक वर्ष पहिलो ६ महिनामा ईभी आयातमा १३ अर्ब ४० करोड रुपैयाँ बाहिरिएको छ ।
उक्त अवधिमा मुलुकमा कुल ३६ अर्ब ३१ करोड रुपैयाँबराबरका सवारीसाधन आयात भएकोमा त्यसको ३७ प्रतिशत हिस्सा ईभीले ओगटेको छ ।
चालु आव सरकारले ईभीमा कर बढाए पनि आयात भने उत्साहप्रद देखिएको छ ।
खासगरी, यो वर्ष ईभीमा धेरै ‘भेराइटी’ थपिनुका साथै सस्तो मूल्यका पनि बजारमा उपलब्ध भएकाले यसको आयात बढेको विक्रेता बताउँछन् ।
नेपालमा टाटा, बीवाईडी, एमजी, हुन्डाइ, सिट्रोन, कियालगायत कम्पनीले ईभी बिक्री गर्दै आएका छन् ।
टाटा, बीवाईडी र एमजी नेपालमा ईभीका सबैभन्दा लोकप्रिय ब्रान्ड हुन् ।
नेपाललाई सुहाउँदा गाडीहरु आएको र ग्राहकहरुमा ईभीप्रति आत्मविश्वास पनि बढेकाले विद्युतीय सवारीको बिक्री बढेको बीवाईडीकी विक्रेता यमुना श्रेष्ठ बताउँछिन् ।
‘ईभीका प्रयोगकर्ता बढेसँगै यसको फाइदा, कम खर्चलगायत विषयमा एकले अर्कोलाई भन्दै जाँदा यसको एडप्टेसन बढेको छ,’ उनले भनिन् ।
यसका साथै ईभीलाई बैंकले मूल्यको ८० प्रतिशतसम्म ऋण दिने गरेको र ब्याजदर पनि सस्तो भएकाले पनि यसप्रति ग्राहकहरुको रुची बढेको उनी बताउँछिन् ।
यस अवधिमा व्यावसायिक प्रयोजनका भ्यानहरुको बिक्री पनि बढेको उनको भनाइ छ ।
‘विद्युतीय माइक्रोबस चलाउँदा सञ्चालन खर्च बचेर फाइदा धेरै हुने भएपछि यो सेग्मेन्टमा पनि ईभीको प्रयोग बढिरहेको छ,’ उनले भनिन् ।