शनिबार कार दुर्घटनामा एकै परिवारका पाँचजनाले ज्यान गुमाएपछि थानकोट–चित्लाङ सडकखण्ड चर्चामा छ ।
इतिहास लामो रहे पनि यो सडकखण्ड अझै अस्तव्यस्त र धरापपूर्ण छ । यो सडकखण्ड त्यसवेला बनेको थियो, जति वेला उपत्यकामा मानिसले गाडी बोकेर भिœयाउँथे ।
तर, सवारीसाधन नै बोक्नुपर्ने कालखण्डमा नै ट्र्याक खुलिसकेको यो सडकको अझै दुरावस्था छ ।
काठमाडौंमा सवारीसाधन भित्र्याउँदाको इतिहाससँग जोडिएको थानकोट–चित्लाङ सडकखण्ड अझै साँघुरो र कच्ची छ ।
जब कि तराईसँग नजिक र सहज हुने भएकाले दशकौँ पहिले यही बाटो प्रयोग गरेर भीमफेदी, चिसापानी हुँदै उपत्यकामा सवारीसाधन बोकेर ल्याइन्थ्यो ।
हाल उपत्यकाबाट मकवानपुर निस्कन छोटो हुने भएपछि यो सडक धेरैले प्रयोग गर्छन् ।
आन्तरिक पर्यटनका लागि राम्रो स्थान मानिएको चित्लाङ जान नजिक र उपयुक्त सडक पनि यही हो ।
तर, सडकको दुरावस्थाले एकपछि अर्को सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् ।
शनिबार यही सडकखण्डअन्तर्गत पर्ने हिमचुली सेतो पहरा भन्ने ठाउँमा कार दुर्घटनाग्रस्त भयो ।
दुर्घटनामा ३८ वर्षीय डा. महेशकुमार गौतमसहित उनीका छोरा चार वर्षीय प्रियांश, ६ वर्षीया छोरी स्मारिका, ६७ वर्षीय ससुरा ओमकारनिधि तिवारी र सासू कल्पना तिवारीको ज्यान गुमाउनुप¥यो ।
यस सडकखण्डमा भएको यो ताजा प्रतिनिधिमूलक घटना हो ।
सडकको अवस्था नाजुक भएका कारण हिमचुली सेतो पहरामा दुर्घटनाको जोखिम धेरै छ ।
ठाडै उकालो, साँघुरो र ग्रेड नमिलेका कारण यस ठाउँमा बढी दुर्घटना हुने गरेको सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारी बताउँछन् ।
उनका अनुसार सात मिटर अर्थात् दुई लेनको यो सडकको सबैतिर चौडा र ग्रेड मिलेको छैन ।
दुर्घटना कम गर्न ग्रेड मिलाउने, चौडा पार्ने, ब्रेक र सडकको छेउमा बार राख्न आवश्यक छ ।
भण्डारीका अनुसार यो सडक उपत्यकासँग जोडिएका अन्य सडकभन्दा निकै पुरानो मानिन्छ ।
२०१३ सालभन्दा अघि नै यहाँ गोरेटो बाटो थियो भने यसलाई व्यापारिक बाटोका रूपमा पनि लिइन्थ्यो ।
यो बाटो मानिसले नै खनेका थिए । तर, कति सालमा यसको ट्र्याक खोलियो भन्ने यकिन विवरणचाहिँ सडक विभाग र सडक डिभिजनसँग छैन ।
कुनै वेला कुलेखानी, चिसापानी, भीमफेदी हुँदै काठमाडौंमा गाडी बोकेर भित्र्याइन्थ्यो ।
तर, पुरानो सडक भए पनि पर्याप्त बजेट नहुँदा र प्राथमिकतामा नपर्दा कालोपत्रे भएको छैन ।
‘यो सडकको इतिहास गाडी बोक्ने समयसँग जोडिएको छ, अहिले पनि यो बाटो मकवानपुर निस्किन छिटो छ, त्यही कारणले धेरैले यसको प्रयोग गर्छन्, तर यो सडक निकै जोखिमपूर्ण छ,’ उनले भने, ‘शनिबार दुर्घटना भएको स्थान निकै डरलाग्दो छ, त्यहाँसम्म कालोपत्रे गर्न र सडक व्यवस्थित बनाउन करिब २० करोड बजेट चाहिन्छ, तर केन्द्र सरकारले बजेट नै दिएको छैन ।’
मकवानपुरको थाहा नगरपालिकाका रामजी बलामीले सो सडक निकै अस्तव्यस्त रहे पनि वर्र्षौँदेखि मर्मतसम्भार नभएको बताए ।
‘म घर आउजाउ गर्ने सडक यही हो, तर यो सडक निकै जोखिमपूर्ण छ,’ उनले भने, ‘तर सरकारले सडक व्यवस्थित गर्न नसक्दा दुर्घटनाको जोखिम छ ।’
थानकोटदेखि करिब दुई किमिभित्रसम्म यो सडक कालोपत्रे भइसकेको छ भने त्यसपछि कच्ची छ ।
थप पाँच सय मिटर कालोपत्रे गर्न आर्थिक वर्ष ०८०/८१ मा बजेट विनियोजन भएको छ ।
थानकोटबाट हिमचुली सेतो पहरा अर्थात् शनिबार दुर्घटना भएको स्थलसम्म पुग्न करिब पाँच किमि छ ।
तर, केन्द्र सरकारले कम बजेट दिएकाले अप्ठ्यारो ठाउँमा काम गर्न नपाएको डिभिजन प्रमुख भण्डारी बताउँछन् ।
उनका अनुसार पाँच सय मिटर पक्की गर्नका लागि भने ठेक्का प्रक्रिया अघि बढिसकेको छ ।
हाल थानकोटदेखि खोल्सी भन्ने ठाउँसम्म करिब दुई किमि कालोपत्रे भइसकेको छ भने थप पाँच सय मिटर मात्रै पिच गर्नका लागि ठेक्का अघि बढेको छ ।
‘यो बाटो हुँदै त्यसवेला गाडी नै बोकेर पनि काठमाडौंमा ल्याइएको छ, तर प्राथमिकतामा नपर्दा हालसम्म पनि सडकको अवस्था सुधार हुन सकेन,’ उनले भने, ‘सडकको उन्नति नहुनाको कारण बजेट अभाव नै हो ।’
Post Views: 102