स्थानीय बासिन्दाले सडक निर्माणका लागि दबाब दिन संघर्ष समिति बनाएका छन् ।
उनीहरुले सडक अलपत्र पारेको विरोधमा असारमा काठेखोला गाउँपालिका ५ र ६ नम्बरमा सरकारी गाडी पस्नै निषेध पनि गरेका थिए ।
ठेकेदार कम्पनीको कार्यालयमा तालाबन्दी गरेर नै आन्दोलन गरेका थिए । ‘त्यतिबेला ५ दिनसम्म कुनै पनि सेतो नम्बर प्लेटका गाडी गाउँ छिर्न नदिने गरी आन्दोलन भएको थियो ।
तर, दुई दिनपछि प्रशासन आएर ठेकेदारलाई कारवाही गरेर काम सक्ने सहमति गरियो’ वडाध्यक्ष कँडेलले भने, ‘ठेकेदारलाई कारबाही त गरियो । तर, झनै अलपत्र पर्यो ।’
ठेकेदारसँगको सम्झौता तोडेपछि बाँकी काम कसरी गर्ने भन्ने अन्योल भएको छ । वडाध्यक्ष कँडेलले आफ्नो वडामा पर्ने ७ किलोमिटरमध्ये २ किलोमिटर पहिल्यै कालोपत्रे भएको र बाँकी ५ किलोमिटर कहिले हुने अन्योल भएको बताए ।
‘यो बहुवर्षीय योजना भएकाले सरकारले अर्को ठेक्काका लागि तत्कालै बजेट व्यवस्थापन गर्न सक्दैन ।
ठेकेदारलाई कारवाही भयो, काम पनि ठप्प भयो’, कँडेलले भने । आयोजना स्रोतका अनुसार उक्त सडकखण्डको बाँकी काम सक्न अर्थ मन्त्रालयले तत्काल बजेट दिन नसक्ने बताएको छ ।
मध्यपहाडी लोकमार्गको पर्वतको आयोजना कार्यालयले हेर्ने सडकमध्ये ७० प्रतिशत काम सकिएको छ ।
बागलुङ क्षेत्रमा ९० प्रतिशत काम सकिएको इन्जिनियर सुवेदीले जानकारी दिए ।
‘फरक फरक क्षेत्रमा फरकफरक मितिमा सम्झौता भएर काम अघि बढिराखेको छ । कामचाहिं चलिराखेको हो’, उनले भने ।