गोरखाका ६ स्थानीय तहलाई एम्बुलेन्स वितरण

स्वास्थ्य सेवालाई मध्यनजर गर्दै जिल्लाका स्थानीय तहहरुलाई एम्बुलेन्स वितरण गरिएको छ ।

सम्भव नेपाल नामक संस्थाले छ वटा पालिकालाई ‘ख’ वर्गको एक/एक थान एम्बुलेन्स वितरण गरेको हो ।

एम्बुलेन्स पाउनेमा गण्डकी, आरुघाट, चुमनुब्री, सिरानचोक, अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका रहेका छन् ।

बिहीबार जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्बन्धित पालिकाका अध्यक्ष एवं उपाध्यक्षलाई एम्वुलेन्सको चावी हस्तान्तरण गरेका हुन् ।

उनले प्राप्त एम्बुलेन्सको सदुपयोग गर्न पालिकाहरुलाई आग्रह गरे ।

‘पालिकाहरुसँग सरसल्लाह गरेर आवश्यकताका आधारमा स्वास्थ्य चौकी तोकेर एम्बुलेन्स वितरण भएको छ’, उनले भने, ‘पालिकाले आफैंले अपनत्व लिएकाले पनि यसको सदुपयोग हुनेछ भन्ने मैले आशा गरेको छु ।’

सम्भव नेपालका अध्यक्ष प्रेम खत्रीले पालिकाको स्वास्थ्य संस्थालाई लक्षित गरी आवश्यकताका आधारमा एम्बुलेन्स वितरण गरिएको बताए ।

गण्डकीको दर्बुङ स्वास्थ्य चौकी, आरुघाटको थुमी स्वास्थ्य चौकी, चुमनुब्रीको सिर्दिवास स्वास्थ्य चौकी र सिरानचोकको श्रीनाथकोट स्वास्थ्य चौकीलाई लक्षित गरी एम्वुलेन्स वितरण गरिएको उनले जानकारी दिए ।

त्यस्तै अजिरकोटको भच्चेक आधारभूत अस्पताल र बारपाक सुलिकोटको शहीद प्रेम ढकाल स्मृति आधारभूत अस्पताललाई लक्षित गरी एम्बुलेन्स वितरण गरिएको उनले बताए ।

उनका अनुसार पालिकालाई हस्तान्तरण गरिएको एम्वुलेन्स भन्सार छुटमा ल्याइएको हो ।

‘भन्सार छुट नभएको भए एउटा एम्बुलेन्सको मूल्य करिव ६८ लाख पर्थ्यो, सरकारले भन्सार छुट दिएपछि २० लाख ६० हजार पर्‍यो’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *