चन्द्रमामा लगातार बिजुली आपूर्ति गर्न आणविक भट्टी बनाउँदै कार कम्पनी

भनिन्छ, चन्द्रमामा आगामी दुई दशकमा मानव वस्ती बस्नेछ र देशहरुले आ आफ्ना बेस खडा गर्नेछन् ।

चन्द्रमामा मानिसहरुको बसोबास भयो भने मानिसका लागि बिजुली आपूर्ति कसरी होला ? चन्द्रमामा न त पानी छ, न त हावा नै ।

त्यसैले त्यहाँ कुनै जलविद्युत वा वायु ऊर्जा उत्पादन गर्न सकिने कुरा भएन ।

चन्द्रमाको उज्यालो हिस्सामा सौर्य ऊर्जा उत्पादन त गर्न सकिएला तर अँध्यारो हिस्सामा के गर्ने ?

उत्तरी आयरल्याण्डको बेलफास्टमा हालै अन्तरिक्षसम्बन्धी सम्मेलन भएको छ ।

उक्त सम्मेलनमा विश्वकै सबैभन्दा लक्जरी कार निर्माण गर्ने कम्पनी रोल्स रोयसले मिनी परमाणु संयन्त्रको मोडेल प्रदर्शन गरेको छ ।

त्यो १२० इन्च लामो एउटा सानो आकारको आणविक रिएक्टर हो । यो संयन्त्रका माध्यमबाट चन्द्रमामा बन्ने मानव बस्तीमा लगातार विद्युत आपूर्ति भइरहनेछ ।

बेलायतको स्पेस एजेन्सीका प्रमुख कार्यकारी पल बेटका अनुसार रोल्स रोयसको यो आविष्कार निकै महत्वपूर्ण छ ।

यसको माध्यमबाट चन्द्रमामा मानव उपस्थितिलाई स्थायी सुविधा प्राप्त हुनेछ । रोल्स रोयसलाई यो मिनी न्युक्लिएर रिएक्टर परियोजनामा बेलायती स्पेस कम्पनी एजेन्सीले करीब ५० करोड रुपैयाँ बराबरको रकम सहयोग गरेको थियो ।

यसबाट भविष्यमा चन्द्रमामा एउटा ऊर्जा आधार शिविर खडा गर्न सकिने विश्वास गरिएको छ ।

सम्मेलनमा रोल्स रोयसले पेस गरेको मिनी रिएक्टरको प्रोटोटाइप ४० इन्च चौडा र १२० इन्च लामो छ ।

कम्पनीका इन्जिनियर र वैज्ञानिकहरुले सो आणविक विच्छेदन रिएक्टरमार्फत् निस्किने तापबाट कसरी ऊर्जा उत्पादन गर्न सकिन्छ भन्ने बारेमा अनुसन्धान गरिरहेका छन् । यसबाट अझै विद्युत उत्पादन भैसकेको छैन ।

तर यदि सबै प्रक्रिया सही ढंगले अघि बढेमा कम्तिमा आगामी ६ वर्षमा यो रिएक्टरबाट विद्युत पैदा हुनेछ । यद्यपि यसको पूर्ण निर्माणका लागि अझै करोडौं रकम लाग्नेछ ।

वैज्ञानिकहरुका अनुसार यो मिनी न्युक्लिएर रिएक्टरमा हुने विच्छेदन प्रतिक्रियाबाट विद्युत उत्पादन हुनेछ ।

त्यो ठ्याक्कै उही प्रविधिमा आधारित छ जुन संसारभरका परमाणु ऊर्जा संयन्त्रमा प्रयोगमा रहेको छ । मात्र विद्यमान आणविक ऊर्जा रिएक्टरको यो सानो संस्करण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *