पाँच वर्षदेखि निस्सासिएका सर्वसाधारण

नारायणगढबाट बुटवलतिर यात्रा गर्दा राजमार्ग छेउछाउका घर धुलोले छपक्कै छोपिएका छन् ।

जस्तापाताको छानोभरि धुलैधुलो छ, रंगरोगन गरिएका पक्की घर पनि रंगहीन देखिन्छन् । यसको वास्तविक पीडा देख्नेलाई भन्दा भोग्नेलाई धेरै बढी छ ।

पूर्वपश्चिम राजमार्गलाई दुई लेनबाट विस्तार गरेर बस्ती क्षेत्रमा चार लेन र वनजंगल क्षेत्रमा २ लेन फराकिलो बनाउने काम सुरु भएको पाँच वर्षयता नारायणगढदेखि बुटवलसम्मको ११३ किलोमिटरको अधिकांश भागमा यो समस्या छ ।

खाल्डै खाल्डा भएको सडकमा गाडी गुड्दा धुलोको मुस्लो निस्किन्छ । सडक वरपरका रुख विरुवाका पातहरु समेत धुलाम्ये छन् ।

सडक फराकिलो बनाउन कतै पहाड खनिएको छ भने कतै माटो भरिएको छ ।

खाल्डा छल्न कतिपय गाडी सडकको छेउबाट गुड्छन् भने कतिपय कुनातिरबाट । त्यसैले गाडी गुड्दा सडक वरपरको वातावरण कुहिरीमण्डल हुन्छ ।

यो सडकमा ५ वर्षसम्म आधा पनि काम नसकिँदा राजमार्ग वरपरका बासिन्दा निसास्सिएका छन्, अझै कति वर्ष यस्तै उकुसमुकुसमा बिताउनुपर्ने हो भनेर ।

नारायणगढ बुटवल खण्डको लामो भाग नवलपरासी पूर्व र नवलपरासी पश्चिममा पर्छ, जहाँ बाक्लो बसोबास छ । त्यसैले त्यहाँ सडकको धुलो हिलोको प्रभाव पनि उस्तै बढ्ता छ ।

धुलाम्य सडक भएर किसानहरु आफ्ना बस्तुभाउलाई खुवाउन दाना, ढुटो, चोकरको भारी बोकेर हिँडिरहेका र जंगलबाट घाँस लोड गरेको साइकल डोहोर्‍याइरहेका हुन्छन् ।

मास्क लगाएर विद्यालयतिर गइरहेका विद्यार्थीको लाइन देखिन्छ ।

घरको कोठाभित्र धुलो छेक्न झ्यालमा प्लाष्टिक राखिएका छन् । आँगनमा बिस्कुन सुकाउँदा पनि प्लाष्टिकले ढाकिएको हुन्छ ।

यी सबै दृश्यले भन्छन् सडकको दुरवस्थाले स्थानीय बासिन्दा हायलकायल छन् ।

राजमार्ग विस्तारका क्रममा सडकको उचाइ मिलाउँदा गैंडाकोट नगरपालिका–१० का रामचन्द्र सदाशंकरको घर सडक भन्दा गहिररोमा परेको छ ।

वर्षायामभरि सडकबाट बगेको लेदो उनको आँगनमा आयो । अहिलेसम्म नाला समेत नहाल्दा आफू हैरान भएको रामचन्द्र बताउँछन् ।

सडकको धुलो र माटो सामान्य हावाले पनि घर भित्र पुर्‍याउने गरेको भन्दै सदाशंकरले कामदारसँग कुरा गर्दा माथि गुनासो गर भन्ने जवाफ पाउने गरेका छन् ।

एकपटक इन्जिनियरलाई भेटेर नाला हालिदिन भनेपछि ‘हुन्छ’ भन्ने जवाफ पाएका थिए, तर काम भएन ।

‘बाटो बन्न थालेदेखि घरमा बस्न मन नलाग्ने भइसक्यो, राती पानी परेपछि भल कता जान्छ हेर्न जागै बस्नुपर्छ’, उनी भन्छन्, ‘हामी झुपडीमा बसेकालाई त धेरै सास्ती भो ।’

सडक विस्तारको काममा स्थानीयको समस्यालाई पुरै बेवास्ता गरिएको मध्यविन्दु नगरपालिका डण्डाका सीताराम चालिसे बताउँछन् ।

‘पोल गाड्दा मनपरी छ, कसैको घर जाने बाटोमै गाडिदिन्छन्’, उनी भन्छन्, ‘समस्या प¥यो निकाल भन्दा छिमेकीलाई देखाएर झगडा लगाइदिन्छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *