बालकुमारी घटना : ज्यान गुमाएका युवालाई सहिद घोषणा गरिने

ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीसँगको झडपमा मृत्यु भएका दुई युवकलाई सरकारले सहिद घोषणा गर्ने भएको छ ।

मृत्यु भएका युवकका परिवार र सरकारबीच सोमबार भएको चारबुँदे सहमतिमा उनीहरूलाई सहिद घोषणा गर्ने र मृतकका परिवारका एक–एक सदस्यलाई रोजगारी दिने समझदारी भएको हो ।

 प्रदर्शनमा मृत्यु भएका अछामका वीरेन्द्र शाहका बुबा टेकबहादुर शाह र दैलेखका सुजन राउतका मामा टेकबहादुर कटुवाल तथा गृह मन्त्रालयका तर्फबाट उपसचिव उमाकान्त अधिकारीले सहमतिमा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा अछामका सांसद शेरबहादुर कुँवर र पुष्पबहादुर शाह, दैलेखका सांसद दिक्पालकुमार शाही र अमरबहादुर थापा तथा अर्की सांसद दीपकुमारी शर्मा रोहवर बसेका छन् ।

सहमतिमा सरकारले उपलब्ध गराउने राहतका अतिरिक्त थप राहत उपलब्ध गराउन यथाशीघ्र आवश्यक सहजीकरण गर्ने र मृतकको शवलाई सम्बन्धित जिल्लामा पुुर्‍याउन गृह मन्त्रालयले प्रबन्ध मिलाउने उल्लेख छ ।

रोजगारीका लागि कोरिया पठाउनका लागि लिइने परीक्षासम्बन्धी विवादमा झडप हुँदा उनीहरूको मृत्यु भएको थियो ।

शाहको प्रहरीको गोली लागेर तथा राउतको प्रहरी कुटपिटबाट मृत्यु भएको थियो ।

सोमबारको मन्त्रिपरिषद् बैठकले घटनाका विषयमा उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको नेतृत्वमा जाँचबुझ आयोग पनि गठन गरेको छ ।

आयोगको सदस्यमा पूर्वएआइजी अरुण बिसी तथा गृह मन्त्रालयका सहसचिव नारायण भट्टराई छन् ।

आयोगलाई एक महिनाको कार्यादेश दिइएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । यसअघि डिआइजी लालमणि आचार्य नेतृत्वमा छानबिन समिति गठन गरिएको थियो ।

घटनामा प्रहरीले अनावश्यक बल प्रयोग गरेको आरोप छ ।

गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्र पण्डित र ललितपुरका एसएसपी सिद्धिविक्रम शाहलाई हटाएको छ भने फिल्डमा खटिएका डिएसपी उमेश लम्साललाई निलम्बन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *