नागढुङ्गा–काभ्रे खण्डको काम सुरू

राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ।

विसं २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गादेखि वडा नम्बर ३ को काभ्रे खण्डमा सडक निर्माणको काम यसै महिनादेखि सुरु भएको हो।

नागढुङ्गा–काभ्रे खण्डको सडक विस्तार र कालोपत्रका लागि सञ्चालित योजनाका ठेकेदार चार वर्षपछि काममा फर्किएका अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले जानकारी दिए।

‘लामो समयको प्रतीक्षापछि ठेकेदार काममा फर्किएकाले सडकको अवस्था सुधार हुने अपेक्षा गरेका छौं। निर्माणलाई गति दिन सहजीकरण र समन्वय गरिरहेका छौं,’ उनले भने।

विसं २०७४ मा निर्माण कम्पनी शर्मा–गजुरमुखी नागढुङ्गा–कैकुखोला खण्डको १६ दशमलव ५ किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति गर्न ठेक्का सम्झौता गरेको थियो।

विसं २०७७ असार र साउन महिनाको पहिरोको तथा कालीगण्डकी नदीको कटानका कारण नागढुङ्गा–काभ्रे खण्डको सडकमा क्षति भएको थियो।

पहिरोपछि बीमा दाबी प्रक्रियामा भएको ढिलाइले रोकिएको सडक निर्माणलाई पुनः थालिएको शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताए।

‘आगामी जेठ महिनाभित्र सडक निर्माणलाई पूर्णता दिने कार्ययोजनाका लागि उपकरण, मजदुर परिचालन गरेका छौं,’ उनले भने, ‘हाल एक सय १० जना मजदुर, चारवटा ब्रेकरसहितको डोजरलगायत आवश्यक उपकरण निर्माणस्थलमा ल्याइएको छ।’

विसं २०७६ मा निर्माण सकिनुपर्ने यो सडकको निर्माण अवधिसँगै लागत पनि बढेको छ।

पछिल्लोपटक भएको ‘भेरियसन अर्डर’ सहित लागत रु ६३ करोड पुगेको छ।

पहिरो र कटानको उच्च जोखिमका कारण विभिन्न ठाउँमा २ दशमलव ५ किलोमिटर सडकलाई कालोपत्रबाट झिकिएको छ।

नागढुङ्गा–काभ्रे खण्डमा ८ दशमलव ५ किलोमिटर दूरीमा डिबिएसडी प्रविधिको कालोपत्र गर्ने तयारी भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *