सरकारले विद्युत्को माग न्यून हुने समय (अफ पिक आवर)मा बढी विद्युत् खपत गर्ने उद्योग, खानेपानी तथा सिँचाइ क्षेत्रलाई महसुल दरमा सहुलियत दिने भएको छ ।
१ पुसमा मन्त्रिपरिषद्बाट स्वीकृति भएको ‘विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, ०८०’मार्फत सरकारले यस्तो नीति ल्याएको हो ।
सामान्यतया, राति ११ बजेदेखि बिहान ५ बजेसम्मको अवधिलाई ‘अफ पिक आवर’ मानिन्छ ।
उक्त कार्यविधिअनुसार विद्युत् नियमन आयोगले महसुल दर पुनरावलोकन गरेपछि उद्योग, खानेपानी तथा सिँचाइ क्षेत्रले यो सुविधा पाउनेछन् ।
कार्यविधि कार्यान्वयनमा आएको ६ महिनामा यो नीति लागू गर्ने लक्ष्य राखिएको छ ।
नेपालमा बिहान र साँझ खाना पकाउने, बत्ती बाल्ने समयमा झन्डै तीन–चार घन्टा विद्युत्को माग उच्च हुन्छ । रातको समयमा भने विद्युत् माग ज्यादै न्यून हुने गर्छ ।
अहिले नेपालको पिक विद्युत् माग १७ सय मेगावाट हाराहारी छ । गर्मी, उच्च जाडो भएको वेला यो २१ सय मेगावाटसम्म पुग्छ । तर, रातको समयमा विद्युत्को माग एक हजारदेखि १३ सय मेगावाट मात्रै हुन्छ ।
यो समयमा भारतमा निर्यात गर्न नसके विद्युत् खेर जाने सम्भावना छ ।
सोहीकारण, सरकारले अफ पिक आवरमा बढी बिजुली खपत गर्ने उद्योग, खानेपानी र सिँचाइ क्षेत्रलाई महसुल दरमा सहुलियत दिन लागेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंहले यस नीतिका कारण विद्युत् खपत बढ्ने विश्वास गरे ।
‘यो कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृति भइसकेको छ । तर, हामीलाई स्वीकृत मस्यौदा आइसकेको छैन,’ उनले भने, ‘स्वीकृति मस्यौदा आएपछि हामी सम्बन्धित निकायसँग समन्वय गरेर कार्यान्वयन प्रक्रिया अघि बढाउछौँ । सफल भएमा विद्युत् खपतमा ठूलो उपलब्धि हासिल गर्न सकिन्छ ।’
Post Views: 243