लिखु तामाकोशी गाउँपालिकाबाट सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४३ प ४१८० नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
दुुर्घटनामा परी मृत्यु हुनेमा लिखुु तामाकोशी गाउँपालिका–४ कोटगाउँका ५७ वर्षीय कमलबहादुर तामाङ रहेका छन्।
बुधबार दिउँसो घरबाट सदरमुकाम मन्थलीतर्फ आउँदै गर्दा लिखु तामाकोशी–७ तिल्पुुङस्थित मोडमा मोटरसाइकल अनियन्त्रित भई तल्लो मोडमा झरेको थियो।
घाइते तामाङलाई घटनास्थलबाट उपचारको लागि सदरमुकाम मन्थलीमा रहेको रामेछाप सामुदायिक अस्पतालमा ल्याइएको थियो।
उनको उपचारको क्रममा नै ज्यान गएको रामेछाप सामुदायिक अस्पतालका डा. केशवसिंह धामीले जानकारी दिए।
मृतक तामाङको शव पोस्टमार्टमको लागि हाल मन्थली अस्पतालमा राखिएको छ।
उनका छोराहरू रोजगारीको सिलसिलामा जिल्लाबाहिर रहेकाले छोराहरू आएपछि शव पोस्टमार्टम गरिने र दाहसंस्कारको लागि परिवारलाई जिम्मा लगाइने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।