द्रुत बस सञ्चालन, ११ वटा थप

द्रुत बस सञ्चालन प्रभावकारी नभएको प्रश्न उठिरहेका वेला सरकारले थप ११ वटा द्रुत बस थपेको छ ।

यससँगै आइतबारदेखि ३६ वटा बस सञ्चालन हुनेछन् । बिहान र बेलुकी पिक आवरमा द्रुत बस कम भएको गुनासो आएको र बस सञ्चालन प्रभावकारी देखिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बस थप्ने निर्णय गरेको हो ।

आइतबारदेखि थपिने ११ बसको यात्रा बिहान ८:३० बजेदेखि सूर्यविनायकबाट हुनेछ ।

मन्त्रालयले नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघसँग समन्वय गरी आइतबारदेखि बस थप गर्न र समयसीमासमेत परिवर्तन गर्न यातायात व्यवस्था विभागलाई निर्देशन दिएको छ ।

सोहीअनुसार विभागले यातायात व्यवसायीसँग समन्वय गरी द्रुत बसको संख्या थप्ने र समयसीमासमेत परिवर्तन गर्ने भएको छ ।

अब आइतबारदेखि बिहान ८:३० बजे तीन–तीन मिनेटको फरकमा भक्तपुर सूर्यविनायकदेखि द्रुत बस छुट्ने छन् ।

विभागले बेलुकीको समयसमेत परिवर्तन गरी दिउँसो ३:३० देखि नै दुई घन्टा सञ्चालन गर्ने भएको हो ।

बिहान ८:३० बजेदेखि १०:३० बजेसम्म तीन–तीन मिनेटको फरकमा भक्तपुर सूर्यविनायकदेखि द्रुत बस छुट्नेछ भने दिउँसो ३:३० देखि ५:३० सम्म रत्नपार्कदेखि बस छुट्नेछ ।

यसअघिको समयसीमा व्यावहारिक नभएको र बस संख्या पनि निकै कम भएको भन्दै यसलाई व्यवस्थित पार्न लागिएको विभागका प्रवक्ता ईश्वरीदत्त पनेरूले जानकारी दिए ।

उनका अनुसार बस संख्यासमेत थपिएकाले पहिलेभन्दा धेरै यात्रुले यसको फाइदा लिन सक्नेछन् ।

‘द्रुत बसबारे बाहिर नकारात्मक हल्ला छ, तर हामी यसलाई बन्द गर्दैनौँ । थप व्यवस्थित र प्रभावकारी बनाउँछौँ ।

द्रुत बसले धेरैलाई सहज भएको छ,’ पनेरूले भने । उनका अनुसार द्रुत बस छुट्ने समय र यात्रुको विवरण ट्राफिक प्रहरीले राख्दै आइरहेको छ ।

३ असारदेखि सुरु गरिएको द्रुत बस सेवालाई विहान ९–११ र बेलुकी ४–६ बजेसम्मको समय तोकिएको थियो ।

तर, यो समय व्यावहारिक नभएको र धेरै यात्रु द्रुत बस चढ्नबाट वञ्चित हुने अवस्था आएको भन्दै विभागले समय परिवर्तन गर्न लागेको हो ।

आइतबारदेखि थप गर्न लागिएको बस संख्या नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले व्यवस्थापन गर्नेछ ।

महासंघले हरेक दिन फरक–फरक बस यस नियमअनुसार सञ्चालन गर्नेछ ।

महासंघले हरेक दिन आलोपालो गरेर फरक–फरक बसलाई यस नियममा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको विभागका प्रवक्ता पनेरूले जानकारी दिए ।

उद्घाटनका दिन ट्राफिक व्यवस्था कडा पारेर शान्तिवाटिकादेखि सूर्यविनायकसम्म भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहितको टोली ४५ मिनेटमा पुगेको थियो  ।

तर, त्यसयता भने अस्तव्यस्त ट्राफिक व्यवस्थापन र पूर्वाधारको कमीका कारण प्रभावकारी बन्न नसकेको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *