नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म निषेधित क्षेत्र

जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म निषेधित क्षेत्र घोषणा गरेको छ।

जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिसमा आगामी एक महिनासम्म सो क्षेत्रमा पाँच जनाभन्दा बढी भेला भई कुनै खालको पनि प्रदर्शन गर्न नपाइने काठमाडौंका सिडिओ जितेन्द्र बस्नेतले जानकारी दिए।

एउटै मितिमा विभिन्न समूहले विरोध प्रदर्शनजस्ता कार्यक्रम आपसी विवाद, झैझगडा, मुठभेड एवं भिडन्त भई शान्ति सुरक्षा भंग हुनसक्ने भन्दै प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम उक्त क्षेत्र निषेधित घोषणा गरेको हो।

प्रशासनले पद्मोदय मोडदेखि सिंहदरवार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेको हो।

एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँले मंसिर ७ गते माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने भन्दै प्रचार गरेका छन्।

प्रशासनले दुवै समूहलाई बोलाएर उक्त क्षेत्रमा विरोध प्रदर्शन गर्न नदिइने जानकारी गराएको थियो।

दुवै समूहलाई अन्यत्र कुनै स्थान तोकेर शान्तिरूपमा प्रदर्शन गर्न दिइने सिडिओ बस्नेतले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *