अचाक्ली गाडीभाडाले स्थानीय यात्रु मर्कामा

हुम्लाको सदरमुकाम सिमकोटबाट उत्तरी नाम्खा गाउँपालिका- ५ को हिल्सानाकासम्म ९५ किलोमिटर दूरी छ ।

९५ किलोमिटर दूरीको यातायात भाडा सुन्दा पनि यात्रुको सातो जाने गर्छ ।

यातायात व्यवसायीले ९५ किलोमिटर दूरीको यात्रा गर्दा प्रत्येक यात्रुबाट पाँच हजार रुपैयाँ भाडा लिँदै आएका छन्।

याे कच्ची सडकमा दैनिक एक–दुईवटा मात्रै बोलेरो जिप गुड्छन् ।

कम रूपमा गुड्ने गाडीकाे भाडा भने यातायात व्यवासायीहरूले यात्रुको ढाड सेक्ने गरी असुल गर्छन् ।

यसरी यातायात व्यवसायीहरूले आफूखुसी अचाक्ली गाडीभाडा असुल्द‌ै आएपछि स्थानीय यात्रु मर्कामा परेका छन्।

सदरमुकाम सिमकोटदेखि हिल्सानाकासम्म पुगेकाे पाँच हजार गाडीभाडा तिर्नुपरेको सर्केगाड गाउँपालिका- ५ का बलराम बुढाथोकीले जानकारी दिए।

‘सिमकोटदेखि हिल्सानाका र हिल्सानाकादेखि सिमकोट आउजाउ गर्न १० हजार भाडा छ,’ बुढाथोकीले भने, ‘यहाँ लुटतन्त्र छ ।

गरिबहरूले दिनभर चीनको ताक्लाकोटमा मजदुरी गरेको पैसा घर फर्किँदा सबै गाडीवालाहरूलाई बुझाउनुपर्छ ।’

चीनको ताक्लाकोटमा गएर मजदुरी गर्न सीमापास चाहिन्छ ।

सीमापास बनाउन सिमकोट पुगेका नाम्खा गाउँपालिका- ५ का पेमा याङग्याल तामाङले गाडीभाडामा चरम लुट रहेको बताए।

९५ किलोमिटर यात्रा गर्दा पाँच हजार रुपैयाँ तिर्नु परेको तामाङको भनाइ छ ।

स्थानीय प्रहरी प्रशासन मूकदर्शक
यात्रुहरूबाट गाडीवालाले चरम लुट गर्दा समेत स्थानीय प्रहरी, प्रशासन मूकदर्शक बनेका छन्।

यात्रुहरूबाट मनपरी रूपमा यातायात व्यवसायीहरूले भाडा असुले पनि स्थानीय तहदेखि स्थानीय प्रहरी र प्रशासन मूकदर्शक बनेको नाम्खा गाउँपालिका- २ का निमा लामाको गुनासो छ ।

‘यातायात व्यवसायीहरूले गरिबहरूको ढाड सेक्ने काम गर्दै आएका छन्,’ लामाले भने, ‘पछाडि ढालामा बसेको र अगाडि सिटमा बसेको भाडा एउटै लिने रहेछन् ।

यसको अनुगमन न त नाम्खा गाउँपालिकाले गरेको छ ।

न त प्रहरी र प्रशासनले गरेको छ । जसले गर्दा यात्रुहरू प्रत्यक्ष रूपमा मर्काका पर्नुपरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *