चक्रपथमा द्रुत गतिका सार्वजनिक बस नचल्ने

काठमाडौं उपत्यकाको २७.३० किलोमिटर लामो भित्री चक्रपथ (रिङरोड)मा द्रुत गतिको बिजुली बस परिवहन (इबिआरटी) आयोजना बनाउने योजनाबाट सरकार पछि हटेको छ ।

गत ३ असोजबाट रत्नपार्क–सूर्यविनायक–रत्नपार्क रुटमा द्रुत गतिको बस सेवा (बिआरटी) सुरु गरेको सरकारले चक्रपथमा इबिआरटी बनाउने योजना भने तत्काललाई स्थगित गरेको हो ।

त्यसका लागि चक्रपथमा इबिआरटी आयोजनाको सम्भाव्यता अध्ययन गर्नका लागि आह्वान गरिएको ग्लोबल टेन्डर पनि रद्द गरिएको छ ।

लगानी बोर्डले चक्रपथ इबिआरटीको अध्ययन गर्न पहिलोपटक २० कात्तिकदेखि २६ मंसिरसम्म ग्लोबल टेन्डर आह्वान गरेको थियो ।

तर, त्यसमा प्रस्ताव दिएका १३ कम्पनीको मूल्यांकन भइरहेका वेला उक्त टेन्डर रद्द गरेर २२ माघदेखि ५ चैतसम्ममा अर्काे टेन्डर आह्वान गरिएको थियो ।

तर, बोर्डले उक्त टेन्डर पनि गत २ साउनमै रद्द गरिसकेको छ । त्यसपछि बोर्डले यसबारे थप प्रक्रिया अघि बढाएको छैन ।

सरकारले आर्थिक वर्ष ०७१/७२ को बजेटमै काठमाडौं उपत्यकाको सार्वजनिक यातायात व्यवस्थित गर्न धेरै यात्रु अट्ने बिआरटी योजना घोषणा गरेको थियो ।

त्यसपछि ०७५ मा लगानी बोर्डले यसलाई इबिआरटीको मोडेलमा निर्माण गर्ने प्रक्रिया अघि बढाएको थियो ।

बोर्डले रिङरोडमा दु्रत गतिको बिजुली बस सञ्चालन गर्न ०१९ (०७५/७६) मै पूर्वसम्भाव्यता अध्ययन गरिसकेको थियो ।

त्यसले चत्रपथमा इबिआरटी सञ्चालन गर्न सम्भव देखाएको थियो । ०१९ मा सम्पन्न लगानी सम्मेलनमा यो आयोजना निर्माण र सञ्चालन गर्न चारवटा लगानी प्रस्तावसमेत आएका थिए ।

सोहीअनुसार पूर्ण सम्भाव्यताका लागि टेन्डर पनि आह्वान गरिएको थियो । तर, अहिले सरकार एकाएक चक्रपथमा इबिआरटी बनाउने निर्णयबाट पछि हटेको छ ।

बोर्डका प्रवक्ता अमृत लम्सालले पनि तत्काललाई चक्रपथमा इबिआरटी बनाउने योजना स्थगित गरेको बताए ।

‘चक्रपथमा मेट्रोरेल बनाउनेलगायतका सरकारी योजना पनि छन् । साथै, इबिआरटीका लागि पर्याप्त ठाउँ पनि नपुग्नेजस्तो देखियो,’ उनले भने, ‘त्यसैले तत्काललाई चक्रपथमा इबिआरटी बनाउने योजना स्थगित गरिएको छ । अहिले यसबारे केही काम भएको छैन ।’

यद्यपि, पछि सरकारले निर्देशन दिएको अवस्थामा यो आयोजना अघि बढ्न सक्ने बोर्डका एक अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *