दोष कर्मचारीको, कारबाही चालकमाथि  

पेट्रोलपम्प सञ्चालकले तेलको तापक्रम र घनत्व परीक्षण गर्ने थर्मोमिटर र हाइड्रोमिटर राखेका कारण धनगढीमा डिजेल मिसिएको पेट्रोल आयल निगमले बिक्री गरेको पत्ता लागेको हो, तर सबै पेट्रोलपम्प व्यवसायीले यस्ता उपकरण राख्दैनन् जसकारण निगमले पठाएको तेल पम्पको अन्डर ग्राउन्डमा खसालेर सोझै बिक्री हुने गरेको छ।

बिहीबार धनगढीमा भएको मिसावटमा निगमको डिपो प्रमुख मोहन साह र अपरेसन विभागमा कार्यरत कर्मचारीहरूको प्रत्यक्ष दोष छ।

धनगढी डिपोमा इन्डियन आयल कर्पोरेसन (आइओसी) को बन्थरा डिपोबाट पेट्रोल, डिजेल र मट्टीतेल आयात हुने गरेको छ।

धनगढीमा भण्डारण क्षमताको अभावका कारण आइओसीबाट तेल बोकेर आएको ट्यांकरलाई डिपो परिसरमा सामान्य परीक्षण गरी पेट्रोलपम्पमा पठाउने गरिएको छ।

आयल निगमका प्रवक्ता मनोज ठाकुरले डिपोमा आएको ट्यांकरलाई ‘ड्रेन’ नगरी पम्पमा तेल पठाउँदा मिसावटको घटना भएको अनुमान गरेको बताए।

आइओसीबाट तेल लिएर आएको ट्यांकरको प्रत्येक चेम्बरको तल्लो भागमा रहेको तेल बाल्टीमा खसालेर पुनः ट्यांकरको माथिल्लो भागबाट सोही चेम्बरमा खसाल्नुलाई ड्रेन भनिन्छ।

‘ड्रेनमा भएको कमजोरीले पेट्रोलमा मिसावटजस्तो देखिएको हो, यसबारे विस्तृत लेखी पठाउनू भनेर धनगढी कार्यालयलाई निर्देशन दिइसकेका छौँ,’ प्रवक्ता ठाकुरले भने।

आयल निगमले एउटै ट्यांकरमा पेट्रोल र डिजेल ढुवानी गर्ने गलत नीति अपनाउँदै आएको छ।

सोही कारण पनि मिसावटको घटना भएको निगमको प्रारम्भिक बुझाइ छ ।

प्रवक्ता ठाकुरले अघिल्लोपटक सो ट्यांकरले डिजेल ढुवानी गरेको हुन सक्ने र ट्यांकरको पिँधमा केही डिजेल बाँकी नै रहेको वेला पेट्रोल ढुवानी गर्दा मिसावट भएको हुन सक्ने बताए।

निगमको धनगढी डिपो प्रमुख मोहनकुमार साहले भने पेट्रोल बोकेको ट्यांकरमा डिजल कसरी देखियो भन्नेबारे अझै यकिन हुन नसकेको र छानबिनकै क्रममा रहेको गैरजिम्मेवार अभिव्यक्ति दिए ।

उनले यस घटनामा चालकलाई मुख्य दोषी करार गर्दै कारबाहीसमेत गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *