नेपाल आयल निगम लिमिटेडको सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीले गत बिहीबार साँझ घोडाघोडी नगरपालिका–१० मा रहेको मित्र ट्रेडस् पेट्रोलपम्पमा डिजेल मिसिएको पेट्रोल पठाएको पाइएको छ।
सो घटनामा निगम कर्मचारीको प्रत्यक्ष लापरबाही देखिए पनि कारबाही गर्नुको सट्टा उच्च व्यवस्थापनले संरक्षण गरेको छ।
पहलमानपुरस्थित मित्र ट्रेडसका सञ्चालक अजय बमले सो दिन निगमको धनगढी डिपोमा बिल नम्बर ८१०७–७००००१२४४ मार्फत ४ हजार लिटर पेट्रोलको माग गरेका थिए। र, निगमले ३ हजार ९ सय ९४ लिटर पेट्रोल पठाएको भन्दै बिलिङ गरेको थियो।
बमको पम्पमा पेट्रोल लिएर ना ५ ख ७७३ नम्बरको ट्यांकर बिहीबार दिउँसो ४ बजेर २६ मिनेटमा पुगेको थियो।
कुल २० हजार लिटर पेट्रोल लिएर पुगेको ट्यांकरको च्याम्बर नम्बर ५ मा रहेको चार हजार लिटर पेट्रोल आफ्नो पम्पमा खसाल्नुअघि सञ्चालक बमले हाइड्रोमिटरमार्फत पेट्रोलको गुणस्तर परीक्षण गर्दा डिजेल मिसावट भएको पुष्टि भएको हो।
‘पम्पमा आएको ट्यांकरको तेल ठीक छ कि छैन भनेर नियमित रूपमा चेक गर्ने गरेको छु। अन्य दिनमा जस्तै बिहीबार पनि हाइड्रोमिटरमार्फत चेक गरेको थिएँ।
सुरुमा करिब ६–७ लिटर तेल झिकेर परीक्षण गर्दा सबै डिजेल मात्रै भेटियो,’ सञ्चालक बमले भने, ‘त्यसपछि ट्यांकरबाट थप एक बाल्टी (२० लिटर) तेल झिकेर पुनः परीक्षण गर्दा पनि सबै डिजेल मात्रै रहेको पाएँ।’
पेट्रोलको बिलिङ गरेर निगमको डिपोबाट निस्केको ट्यांकरमा डिजेल मिसावट भएको पाएपछि उनी आफैँ छक्क परेका थिए।
बारम्बारको परीक्षणमा पेट्रोल रहेको भनिएको ट्यांकरबाट डिजेल मात्रै निस्केपछि स्थानीयस्तरमा तुरुन्तै खबर फैलिएको थियो।
तेल भर्न सवारीसाधनसहित पम्पपरिसरमा आएका उपभोक्ताले आयल निगमबाट डिजेल मिश्रित पेट्रोल ल्याएको खबर थाहा पाएपछि ट्यांकरमा आगजनीसमेत गर्न खोजेका थिए।
स्थिति नियन्त्रणमा लिन पम्प सञ्चालक बमले निगमको धनगढी कार्यालयका कर्मचारी र स्थानीय प्रशासनलाई खबर गरेका थिए।
निगम कार्यालयबाट करिब ३५ किलोमिटर टाढा रहेको पम्पमा आयल निगमका डिपो प्रमुख मोहनकुमार साहलगायतका कर्मचारी ढिला गरी पुगेका थिए भने स्थानीय प्रहरी तुरुन्तै आएर सुरक्षा दिएका थिए।
निगम कर्मचारी आएर थप एक बाल्टी (२० लिटर) तेल झिकेर परीक्षण गर्दा पुनः डिजेल नै पुष्टि भएको थियो। त्यसपछि अर्काे बाल्टीमा तेल झिकेर परीक्षण गर्दा भने पेट्रोल पाइएको सञ्चालक बमले जानकारी दिए।
आयल निगमका कर्मचारीले ट्यांकरमा रहेको डिजेलको मात्रा २ बाल्टी (४० लिटर) मात्रै भएकाले डिजेल सकिएर ट्यांकरमा शुद्ध पेट्रोल मात्रै भएको दाबी गर्दै सोही पम्पमा खन्याउन दबाबसमेत दिएका थिए।
तर, सञ्चालक बलमे सो ट्यांकरको पेट्रोल फिर्ता लगेर अर्को ट्यांकरमा चार हजार लिटर पेट्रोल पठाइदिनुपर्ने अडान कसेका थिए।