ट्राफिक प्रहरी सडक सुरक्षा सचेतता कार्यक्रम

काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको सडक सुरक्षा सचेतता कार्यक्रममा ६८२ जना चालकहरू सहभागी भएका छन् ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सवारी दुर्घटना न्यूनीकरण र ट्राफिक सचेतता अभिवृद्धि गर्न चेतनामूलक कार्यक्रम गरिएको बताउनु भएको छ ।

ट्राफिक प्रहरी कार्यालयमै बोलाएर कार्यक्रम गर्दा चालकको समय अभाव हुने भएकाले समय अभावलाई मध्यनजर गरी On-the-spot चेतनामूलक कार्यक्रम गरिएको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा नयाँबसपार्क क्षेत्रमा १५० जना,बौद्दमा ११९ जना,नागढुङ्गामा ९२ जना, न्युरोडमा ७० जना, सुकेधारामा ६० जना, सोह्रखुट्टे र स्वयम्भूमा ५०/५० जना, कपनमा ३० जना, बुढानिलकण्ठमा २५ जना, कीर्तिपुरमा २२, काँडाघारीमा ९ जना, थानकोटमा ३ जना र भैंसेपाटी क्षेत्रमा २ जना गरी काठमाण्डौ उपत्यकामा ६८२ जना चालकहरूलाई ट्राफिक नियम र सडक सुरक्षाका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा चालकलाई मापसे, लापसे र ढोका खुल्ला गरी सवारी चलाउँदा हुने दुर्घटना र त्यसबाट हुने धनजनको क्षतिका विषयमा जानकारी गराइएको थियो ।

यस्तै तिव्र गति, आरक्षण सिट, रातो बत्ती,फुटपाथ पार्किङ्ग, सडक लेन लगायतका विविध ट्राफिक नियम तथा कानूनका बारेमा पनि सजग गराइएको थियो ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक प्रहरी कार्यालयहरूले सडक संस्कारको अभिवृद्धि र दुर्घटना न्यूनीकरण गर्न विभिन्न अभियाननै चलाएर चालक सहित सडक प्रयोगकर्ता लक्षित चेतनामूलक कार्यक्रम गर्दै आएको समेत प्रवक्ता भट्टले बताउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *