देशैंभर पेट्रोल र डिजेल बढी खरिद गरे

पेट्रोलियमको मूल्य बढ्ने जानकारी पाएका पेट्रोलपम्प व्यवसायीले सामान्य अवस्थाको तुलनामा मंगलबार केही बढी पेट्रोल र डिजेल खरिद गरेका छन् ।

मंगलबार दिउँसो इन्डियन आयल कर्पोरेसन (आइओसी) ले निगमलाई नयाँ मूल्य पठाउने निश्चित थियो ।

नयाँ मूल्य बढेर आउने पम्प व्यवसायीहरूले जानकारी पाएसँगै बिहानैदेखि निगमका चार डिपोबाट मात्रै सामान्य अवस्थाभन्दा झण्डै आठ सय किलोलिटर बढी पेट्रोल–डिजेल उठाएका छन् ।

निगमका डिपो प्रमुखहरूले धेरै तेल वितरण नगर्न कडाइ गरे पनि अन्य दिनको तुलनामा मंगलबार केही बढी पेट्रोल–डिजेल बिक्री भएको छ ।

कोसी प्रदेशका पम्प व्यवसायीले तुलनात्मक रूपमा धेरै तेल उठाएर लाभ लिएका छन् ।

कोसीमा इन्धन वितरण गर्ने निगमको विराटनगरस्थित प्रादेशिक कार्यालयका प्रमुख पूर्णप्रसाद रिजालका अनुसार सोमबार आठ सय ५६ किलोलिटर पेट्रोल र डिजेल बिक्री भएकोमा मंगलबार ११ सय ५२ किलोलिटर बिक्री भएको छ ।

त्यस्तै, निगमको मधेस प्रादेशिक कार्यालय, अमलेखगन्ज (बारा) बाट पनि व्यवसायीले सोमबारको तुलनामा तीन सय ८४ किलोलिटर धेरै तेल उठाएका छन् ।

सो कार्यालयका अनुसार मंगलबार १६ सय ८८ किलोलिटर (पेट्रोल तीन सय ९२ किलोलिटर र डिजेल १२ सय ९६ किलोलिटर) बिक्री भएको थियो भने सोमबार १३ सय चार किलोलिटर (पेट्रोल दुई सय ७९ किलोलिटर र डिजेल एक हजार २५ किलोलिटर) बिक्री भएको थियो ।

निगमको लुम्बिनी प्रादेशिक कार्यालय, भैरहवाका प्रमुख जगदीशचन्द्र यादवका अनुसार सोमबारको तुलनामा मंगलबार एक सय आठ किलोलिटर इन्धन बढी बिक्री भएको छ । मंगलबार पेट्रोल दुई सय १७ र डिजेल ६ सय २३ किलोलिटर गरी कुल आठ सय ४० किलोलिटर बिक्री भएको उनले जानकारी दिए ।

सोमबार भने पेट्रोल दुई सय ६ किलोलिटर र डिजेल पाँच सय २६ किलोलिटर गरी कुल सात सय ३२ किलोलिटर बिक्री भएको थियो ।

निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटका प्रमुख शैलेन्द्र भुसालले भने सोमबारको तुलनामा कम पेट्रोल–डिजेल बिक्री गरेको बताए ।

उनका अनुसार सोमबार १२ सय ६४ किलोलिटर बिक्री गरेकोमा मंगलबार १२ सय २० किलोलिटर मात्रै बिक्री भएको छ । पम्प व्यवसायीहरूले बुधबार बिहान तेल बेच्दा प्रतिलिटर पेट्रोलमा नौ रुपैयाँ र डिजेलमा प्रतिलिटर सात रुपैयाँ बढी मुनाफा सुनिश्चित गरेका छन् ।

पम्प व्यवसायीले मंगलबार साँझसम्म पुरानो दरमा तेल किनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *