महानगरले तोक्यो पार्किङ शुल्क

महानगरले विभिन्न क्षेत्रको पार्किङ शुल्क पनि तय गरेको छ । न्युरोड, धर्मपथ, कान्तिपथ, दरबारमार्गलगायतका भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल लैनचौरसम्म) काठमाडौंको मध्यभागका तोकिएका स्थानलाई क्षेत्र नं १ मा राखिएको छ ।

यस क्षेत्रमा सवारीसाधन पार्किङ गरेबापत दुईपांग्रेका लागि पहिलो आधा घण्टासम्म १५ रुपैयाँ र प्रतिघण्टा २५ रुपैयाँ कायम गरिएको छ ।

यसैगरी, ४ पांग्रेका लागि पहिलो आधा घण्टासम्म ५० रुपैयाँ र प्रतिघण्टा ८० रुपैयाँ कायम गरिएको छ ।

क्षेत्र नम्बर १ मा उल्लेख गरिएका स्थानबाहेकका महानगरपालिका क्षेत्रभित्रका अन्य ठाउँलाई क्षेत्र नम्बर २ मानिएको छ ।

यी क्षेत्रमा २ पांग्रे सवारीसाधन पार्किङ गरेबापत प्रतिघण्टा १५ रुपैयाँ, ४ पांग्रेका लागि ४० रुपैयाँ र ४ पांग्रेभन्दा ठूला सवारीका लागि प्रतिघण्टा १०० रुपैयाँ कायम गरिएको छ।

निजी क्षेत्रबाट निजी स्वामित्वको घरजग्गामा व्यावसायिक रूपमा सञ्चालित पार्किङमा २ पांग्रे सवारीसाधनमा पहिलो आधा घण्टाका लागि १५ रुपैयाँ, पहिलो १ घण्टाका लागि २५ रुपैयाँ र त्यसपछि हरेक १५ मिनेटका लागि ५ रुपैयाँ थप शुल्क लिन सकिनेछ ।

यस्तै, ४ पांग्रे सवारीसाधनका लागि पहिलो आधा घण्टाका लागि ४० रुपैयाँ, पहिलो एक घण्टाका लागि ७५ रुपैयाँ र त्यसपछि प्रत्येक १५ मिनेटका लागि थप १५ रुपैयाँ शुल्क लिन सकिनेछ ।

लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरी एकै स्थानमा धेरै सवारीसाधन पार्किङ गर्ने गरी सञ्चालन गरिने व्यावसायलाई व्यवसाय करमा ५ वर्षसम्म शतप्रतिशत छुट प्रदान हुने व्यवस्था गरिएको छ ।

महानगरपालिका आफैँले वा निजी क्षेत्रको सहयोगमा आधुनिक प्रविधियुक्त पार्किङको व्यवस्था गर्ने ऐनमा उल्लेख गरिएको छ ।

यसका लागि निजी क्षेत्रलाई पार्किङ स्थल निर्माण गर्न प्रोत्साहित गरिनेछ । सवारीसाधन पार्किङ गर्ने क्षेत्र र निषेधित क्षेत्र काठमाडौं महानगरपालिका, नगर कार्यपालिकाले तोक्न सक्नेछ ।

अपांगता भएका व्यक्तिहरूले प्रयोग गर्ने सवारीसाधनहरूलाई पार्किङ शुल्क लाग्नेछैन । यस्तै, आपतकालीन सेवाका सवारीसाधन र महानगरपालिकाले तोकेको अन्य सवारीसाधनलाई नि:शुल्क पार्किङको व्यवस्था हुनेछ ।

नक्सापास गर्दा भूमिगत पार्किड क्षेत्र उल्लेख गरी व्यावसायिक प्रयोजन रहेको भवनको पार्किङ क्षेत्रलाई सहज गराउन सार्वजनिक संरचनाले अवरोध गरेको भए सो संरचनाको सुधारमा महानगरपालिकाले सहजीकरण गर्नेछ ।

भवन निर्माण गर्दा तथा नक्सा पास गर्दा भवनको क्षेत्रफल र उपयोगिताका आधारमा तोकिएको क्षेत्रमा अनिवार्य पार्किङ उपलब्ध गराउनुपर्नेछ ।

पार्किङ क्षेत्रमा अनिवार्य रूपमा महानगरपालिकाले दिएको स्वीकृत पार्किङ संकेत वा चिह्न प्रयोग गरेर सूचना पाटी राख्नुपर्नेछ ।

सूचना पाटीमा पार्किङ दर्ता नम्बर, पार्किङसम्बन्धी विवरण र शुल्क उल्लेख भएको हुनुपर्नेछ ।

पार्किङ शुल्क उठाउँदा डिजिटल प्रणालीबाट अनिवार्य बिलिङ गर्नुपर्नेछ । यसको विवरण नियमित रूपमा महानगरपालिकामा पेस गर्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *