नाडा अटो शोमा २० अर्ब भन्दा बढीको कारोबार हुने अपेक्षा

नाडा अटो शो २०२३ आगामी भाद्र २६ गतेदेखि ३१ गतेसम्म प्रदर्शनीमार्गको भृकुटी मण्डप परिसरमा आयोजना हुने सो प्रदर्शनीका लागि बुकिङ समेत खुल्ला गरेको छ ।

नाडाको आयोजनामा हरेक वर्षको दसैँ अगाडी आयोजना हुँदै आएको नाडा अटो शो कोभिडको महामारीका कारण २०२० र २०२१ मा पनि आयोजना हुन सकेन भने नाडा अटो शो २०२२ पनि सरकारले गत वर्ष केही सवारी साधनहरूको आयातमाथि लगाएको प्रतिबन्धका कारण आयोजना गर्न सकेको थिएन ।

यस्तो विपरीत स्थितिमा नाडाले आफ्नो इतिहासमा पहिलो पटक गत बर्ष भृकुटीमण्डपमा भव्यताका साथ नाडा इभि एक्सपो २०२२ सम्पन्न गरेको थियो ।

आउँदो नाडा अटो शो २०२३ मा विद्युतीय लगायतका चार पाङ्ग्रे, तीन पाङ्ग्रे तथा दुई पाङ्ग्रे सवारी तथा ढुवानीका साधनहरू, स्पेयर पार्टस, टायरटयूव, ब्याट्री, एसेसरिज, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरू समेत राखिने छन् ।

त्यसैगरी सो प्रदर्शनीमा बैंक, इन्स्योरेन्स लगायत ट्राफिक, सडक सुरक्षा र वातावरणसँग सम्बन्धित संघ संस्थाहरू समेतको सहभागिता रहने छ ।

झण्डै चार वर्षपछि हुन लागेको यस बृहत् प्रदर्शनीमा एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब २० अर्ब भन्दा बढीको कारोबार हुने अपेक्षा समेत राखिएको छ ।

कोभिडको दीर्घकालीन असर, सरकारले केही सवारी साधनको आयातमा लगाएको प्रतिबन्ध र प्रतिकूल मौद्रिक नीति जस्ता विभिन्न कारणहरूले विगतमा सुस्ताएको अटोमोवाइल व्यवसायमा, हाल आएको सुधार तथा सकारात्मकतातर्फ अग्रसर भइरहेको राष्ट्रिय अर्थतन्त्रका कारण यो प्रदर्शनी गत वर्षहरूमा सम्पन्न प्रदर्शनीहरू भन्दा थप बृहत् र भव्य हुने जनाईएको छ ।

त्यसैगरी यस प्रदर्शनीमा नेपालभरिका अटोमोवाइल व्यवसायीहरूको अधिकतम सहभागिता रहने अपेक्षा समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *