चर्को ब्याजदर, कर्जा प्रवाहमा कडाइ एवं आर्थिक मन्दीका कारण अटोमोबाइल व्यवसाय संकटमा परेको छ ।
बजारमा खरिदकर्ता नभेटिँदा बिक्रीका लागि ल्याइएका साढे ३१ सय गाडी वीरगन्ज र भैरहवा भन्सारपरिसरमा असरल्ल राखिएका छन् ।
यार्डहरूमा कोभिडअघिदेखि ल्याइएका अर्बौँ मूल्यका साना–ठूला गाडीहरू अलपत्र अवस्थामा रहेको इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।
वीरगन्ज आइसिपीमा साना–ठूला १७ सय २८ र वीरगन्जकै सुक्खा बन्दरगाहमा ३५ गाडी थन्किएका छन् ।
रुपन्देहीको बेलहियास्थित भैरहवा भन्सारमा १३ सय ७७ गाडी पार्किङ गरेर राखिएका छन् । गाडी आयातकर्ता कम्पनीले भन्सार जाँचपास गर्न नसकेर यार्डमा असरल्ल राखेको हो ।
मन्दीका कारण दुईपांग्रे मोटरसाइकल, चारपांग्रे प्यासेन्जर कारदेखि ठूला कमर्सियल गाडीसम्मको बिक्री स्वात्तै घटेको व्यवसायीको गुनासो छ ।
डेढ वर्षयता कमर्सियल गाडीको बिक्री करिब ८० प्रतिशतले गिरावट आएको नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुव थापाले बताए ।
वीरगन्ज आइसिपीको गेटबाटै नयाँ गाडीहरूको लस्कर सुरु हुन्छ । पार्किङ गरिएका कमर्सियल गाडी र यिनका च्यासिसहरू हेर्दै अगाडि बढ्दा प्यासेन्जर कारहरू राखिएका ठाउँमा ३० लाख रेन्जको हुन्डाई ग्रान्ड आइटेनदेखि साढे तीन करोडसम्म पर्ने टायोटा ल्यान्डक्रुजसम्म देखिन्छन् ।
खासगरी, यार्डमा कमर्सियल गाडी, ट्रक, टिपर, पिकअप र यिनका चेसिसको लस्कर छ । ‘अटो कर्जाको जोखिमभार बढाएर १५० प्रतिशत पुर्याइएको छ, जसले गर्दा बैंकले अटोमोबाइलमा कर्जा प्रवाह गरेका छैनन् र बिक्री पनि ठप्प छ,’ नाडा अध्यक्ष थापाले भने, ‘आगामी मौद्रिक नीतिमार्फत कर्जाको जोखिमभार कम्तीमा १०० प्रतिशतमा झारिनुपर्छ ।’