गर्मीको समयमा विद्युत् अनियमित हुँदा सर्वसाधारण मारमा परेका छन् ।
बारम्बार विद्युत् अनियमित हुने, पावर नपुग्नेजस्तो देखिने तथा दैनिक १०–१२ पटकसम्म विद्युत् जाने गरेको धनगढी उपमहानगरपालिका–१ का गगन भण्डारीले बताए ।
‘बारम्बार विद्युत् जान्छ, कतिवेला पावर नपुगेर पंंखा चल्दैन,’ भण्डारीले भने, ‘गर्मीमा बस्नै समस्या छ ।’
उद्योग, कलकारखानामा पनि यसको प्रभाव परेको छ । पावर नपुग्ने र वेलावेला बत्ती जाने समस्याले उत्पादन प्रभावित भएको उद्योगीहरूको गुनासो छ ।
पटक–पटक विद्युत् अवरुद्ध हुँदा विद्यार्थी मारमा परेका नेपाल विद्यार्थी संघ कैलालीका अध्यक्ष मनीष कुँवरले बताए ।
विद्युत् नियमित गर्न माग गर्दै नेपाल विद्यार्थी संघ कैलालीले गत ४ असारमा नेपाल विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्रलाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।
नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्रका निमित्त प्रमुख मोहन जोशीले लोडसेडिङ नभएको, तर अन्य प्राविधिक कारणले विद्युत् अनियमित हुने गरेको बताए ।
गर्मीको सिजनमा विद्युत् बढी खपत हुने भएकाले ‘ओभरलोड’ हुँदा सिस्टम जाने, वर्षा र हावाहुरीले पोल ढल्ने, तारहरू जुध्ने, तारमा रूख र हाँगाहरू खस्नेजस्ता कारणले विद्युत् आपूर्तिमा समय–समयमा समस्या देखिने गरेको उनले बताए ।
रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष गणेश अधिकारीले विद्युत्को समस्या बढ्दो रहेको बताए ।
बुटवल औद्योगिक क्षेत्र उद्योग संघका पूर्वअध्यक्षसमेत रहेका अधिकारीले लो भोल्टेज र पटक–पटक लाइन जाने समस्या रहेको बताउँछन् ।
बुटवल उद्योग वाणिज्य संघका महासचिव विमलराज भट्टराई विद्युत् अनियमितताले सबैलाई मार परेको बताउँछन् ।
विद्युत्मा आत्मनिर्भर भइयो भन्ने, तर पूर्वजानकारीविनै लोडसेडिङ गर्ने प्रवृत्तिले सबै क्षेत्रलाई नराम्रो प्रभाव पारेको छ, महासचिव भट्टराईले भने, विद्युत्मा तत्काल सुधार गर्न आवश्यक छ, यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।
वीरगन्ज–पथलैया औद्योगिक करिडोर क्षेत्रमा झ्यापझ्याप विद्युत् जाने कारण उद्योगी सञ्चालनमा कठिन भएको व्यवसायीले बताएका छन ।
विद्युत् प्राधिकरणले घोषित रूपमा लोडसेडिङ नभने पनि ट्रिपिङका कारण समस्यामा परेको बताएका हुन् ।
दैनिक पाँचदेखि १० पटकसम्म बत्ती आउने–जाने कारण ठूलो मारमा परेको उद्योग वाणिज्य संघ वीरगन्जका उपाध्यक्ष माधव राजपालले बताए ।
उनका अनुसार औद्योगिक करिडोरका उद्योगीले उत्पादन गर्दै आएका गुणस्तरीय सामग्रीमा असर परेको छ ।
दिनभरि विद्युत् आपूर्ति सहज नहुँदा लोडसेडिङ नै गरेर विद्युत् आपूर्ति सहज गर्न उनको माग छ ।
विद्युत् आपूर्तिमा समस्या हुँदा नागरिक र होटेल–व्यापारमा असर देखिएको बताए ।
१५ दिनयता लमजुङमा दैनिकजसो विद्युत् अवरुद्ध भइरहेको छ ।
नेपाल विद्युत् प्राधिकरण अन्तर्गत ३३ केभिएको संरचनामा समस्या हुँदा जिल्लाभर समस्या भएको केन्द्रले जनाएको छ ।
बेँसीसहर–१, उदिपुरस्थित सबस्टेसनको प्रणालीमा समस्या हुँदा आमउपभोक्ताले सास्ती खेप्नुपरेको विद्युत् वितरण केन्द्र लमजुङका प्रमुख मेघनाथ भट्टराईले बताए ।
विद्युत् सेवा प्रभावित हुँदा उद्योगी–व्यवसायी, गृहिणीलाई बढी सास्ती भएको छ ।
जिल्लामा ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी जलविद्युत् आयोजना, दोर्दी करिडोरका ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, ३० मेगावाटको दोर्दी खोला जलविद्युत् आयोजना र १२ मेगावाटको दोर्दी–१ जलविद्युत् आयोजना तथा अन्य खुदी, सिउरी, राधी, स्याँगे, छ्याङ्दी, मिदिमलगायत साना आयोजनाबाट दुई सय ४० मेगावाटभन्दा बढी विद्युत् उत्पादन भइरहेको छ ।