दिल्ली लैजानु पर्ने विमान जयपुर लगे अनि ड्युटी सकियो भनेर पाइलट हिँडे…

नयाँ दिल्ली : ड्युटी सकिएको भन्दै पाइलट हिँडे पछि जयपुरमा ६ घण्टासम्म यात्रु अलपत्र परेका छन् ।

लन्डनबाट दिल्लीका लागि आएको एयर इन्डियाको अन्तर्राष्ट्रिय उडान मौसम खराबी कारण पाइलटले जयपुरमा अवतरण गराए ।

तर, पाइलटले आफ्नो ड्युटी टाइम सकिएको बताउँदै हिँडेपछि जयपुर विमानस्थलमा ६ घण्टासम्म उडानमा सवार यात्रुहरू अलपत्र परेका थिए।

समाचार अनुसार ती यात्रुलाई सडकमार्फत दिल्ली पठाइएको थियो ।

दिल्लीको खराब मौसमका कारण आइतबार ३ अन्तर्राष्ट्रिय र २ आन्तरिक उडानलाई जयपुरतर्फ डाइभर्ट गरिएको थियो ।

जसमा एयर इन्डियाको दुई, स्पाइस जेटको दुई र गल्फ स्ट्रिमको एउटा उडान समावेश थियो।

एयर इन्डियाको उडान एआई–११२ लन्डनबाट बिहान ६ बजे दिल्ली पुग्ने समय तालिका थियो ।

खराब मौसमका कारण उडानलाई जयपुरतर्फ डाइभर्ट गरिएको थियो ।

डाइभर्ट गरिने एयर इन्डियाको दोस्रो उडान दुबईबाट दिल्ली गइरहेको थियो।

गल्फ स्ट्रिमको विमान बहराइनबाट दिल्ली जाँदै थियो ।

स्पाइस जेटको एउटा उडान पुणेबाट र अर्को गुवाहाटीबाट दिल्ली गइरहेको थियो ।

विमानमा सवार भारतीय मूलका बेलायती नागरिक अदितले जयपुरमा छाडेर पाइलट हिँडे पछि अलपत्र परेका यात्रुलाई रिस उठेको बताए ।

तर, एयर इन्डियाले दिल्ली पठाउने हवाईजहाजको नयाँ व्यवस्था नगरेको बताए ।

उनीहरूले उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धिया र सांसद राज्यवर्धन सिंह राठौरलाई ट्विट गर्दै गुनासो गरेका थिए ।

यसपछि एयर इन्डियाले जवाफ दिँदै छिट्टै समाधान गर्ने वाचा गरेको थियो ।

तर, ६ घण्टाभन्दा बढी जनताले सास्ती खेप्नुपरेको थियो ।

पछि एयर इन्डियाले केही यात्रुहरूलाई भोल्भो बस र टयाक्सीमार्फत जयपुरबाट दिल्ली पठाउने व्यवस्था गरेको थियो ।

उडान डाइभर्सनका कारण जयपुर विमानस्थलमा करिब ६ घण्टासम्म सो जहाजमा सवार १५० भन्दा बढी यात्रुले सास्ती खेप्नुपरे पछि स्थिति तनावग्रस्त बन्न पुगेको थियो ।

आक्रोशित यात्रुले विमानस्थलमा नाराबाजी गरेका थिए ।

यात्रुहरूको असन्तुष्टि हटाउन विमानस्थल प्राधिकरणले उनीहरूलाई खाना र अन्य सुविधा उपलब्ध गराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *