नेपालमा निजी क्षेत्रले व्यावसायिक लगानीमा निर्माण गर्ने भनेर तामझामका साथ घोषणा गरिएको हेटौंडा–भीमफेदी–काठमाडौं सुरुङमार्ग एकादेशको कथा भइसक्यो ।
सो सुरुङमार्ग निर्माण गर्ने भन्दै सर्वसाधारणसँग करिब ३५ करोड रुपैयाँ उठाएर नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनबीबीसीएल)ले अपचलन गरेको थियो ।
तर, पछिल्लोपटक दोलखाको लामाबगरमा एक निजी कम्पनीले आफ्नै खर्चमा चुपचाप १ किलोमिटर १ सय मिटर सुरुङमार्ग निर्माण गरेको छ, त्यो सुन्दा धेरैलाई विश्वास नलाग्न सक्छ ।
तामाकोशी जलविद्युत आयोजनाको बाँधस्थल (हेडवर्क्स) क्षेत्र भएर चीनसँगको लप्ची सीमा नाकासम्म जाने सडकमार्गलाई जोड्ने सुरुङमार्ग निजी कम्पनीले निर्माण गरेको हो ।
तामाकोशीको बाँधबाट दायाँतर्फको भीरमा करिब सात मिटर फराकिलो र ६ मिटर अग्लो सुरुङमार्ग तयार भएको छ ।
यो नै यातायात प्रयोजनका लागि नेपालमा हालसम्म निर्माण भएको सबैभन्दा लामो सुरुङमार्ग हो ।
यसअघि भूकम्पले सडकमा क्षति पुर्याएपछि लामाबगर पुग्ने बाटोमा पर्ने काभ्रेभीरमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले नै ३४० मिटर सुरुङमार्ग खनेको थियो ।
अहिले लामाबगरमा निजी क्षेत्रले ब्रेक–थ्रु गरेको नयाँ सुरुङमार्गमा समेत गाडी गुड्न थालिसकेको छ।
यो सुरुङमार्गमा गुडेबापत गाडीले न पैसा तिर्नु पर्छ, न कुनै रोततोक लगाइएको छ।
यो सुरुङमार्गले चीनसँगको लिप्ची नाकालाई जोड्न बाटो खोलेको बिगु गाउँपालिका–१ का वडाध्यक्ष मेम्बा तामाङले जानकारी दिए।
उनका अनुसार एमभी दुगड समूहले निर्माण गरेको हो । समूहअन्तर्गतकै सुमो कन्स्ट्रक्सनले यो सुरुङ खनेको हो।
माथिल्लो तामाकोशी परियोजनाबाट सुरुङमार्गसम्म जोड्ने करिब दुई किलोमिटर खण्डमा सडक बनिसकेको छ भने उत्तरतर्फबाट पनि यो सुरुङमा जोड्न सडक बनाइँदैछ।
तामाङका अनुसार अब १८ किलोमिटर सडक खन्ने हो भने सीमा नाकाको गाउँसम्म पुग्न सकिन्छ।
‘अहिले लामाबगरबाट लग्ची पुग्न हिँडेर २ दिन लाग्छ,’ उनले भने, ‘अब सुरुङमार्गबाट माथिसम्म सडक बन्यो भने एक दिनमा सजिलै पुगिन्छ।’
लामाबगरभन्दा उत्तरतर्फको लोम्नाङ र लप्चीमा यसअघि नै हेलिकोप्टरबाट डोजर लगेर बाटो खनिसकिएको छ र त्यहाँ ट्रयाक्टर र मोटरसाइकलहरु समेत हेलिकोप्टरमार्फ नै पुर्याएर चलाउने गरिएको छ।
अब यो सुरुङमार्गले सो गाउँहरुलाई देशको सडक सञ्जालसँग जोड्ने बाटो खुला गरिदिएको भन्दै वडाध्यक्ष तामाङले अब उत्तरतर्फको जनजीवन पनि सहज हुने भन्दै खुशी व्यक्त गरे।
सडक विभागका अधिकारीहरु यो सुरुङमार्ग निजी क्षेत्रले सबैभन्दा ठूलो लगानीमा बनाएको सार्वजनिक प्रयोजनको पूर्वाधार हुन सक्ने बताउँछन्।
जलविद्युत परियोजनाका लागि पहुँचमार्गहरु धेरै बनाइए पनि यति लामो सुरुङमार्ग बनेको रेकर्ड सडक विभागमा छैन।