हवाई इन्धनको मूल्य घटेपछि आन्तरिक उडानको हवाई भाडा पनि गन्तव्य अनुसार चार सय ४५ रुपैयाँसम्म घटेको छ ।
आयल निगमले आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ (६.३ प्रतिशत)ले घटाएपछि भाडा पनि कम भएको हो ।
भाडादर घटेपछि हवाई यात्रुलाई केही राहत महसुस हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधरबारदेखि नै लागू हुने गरी नयाँ हवाई भाडादर कार्यान्वयन गरेको हो ।
क्यानका अनुसार, नियमित उडान हुने गन्तव्यहरूमध्ये सबैभन्दा कम रामेछाप–लुक्ला रुटमा प्रतियात्रु ७५ रुपैयाँ र सबैभन्दा लामो रुट काठमाडौं–धनगढीको प्रतियात्रु चार सय ४५ रुपैयाँ भाडा घटेको छ ।
यस्तै, काठमाडौंबाट नजिकै रहेको सिमरामा प्रतियात्रु ९० रुपैयाँ भाडा घटेको छ ।
काठमाडौंबाट हुने उडानमा माउन्टेन फ्लाइटको प्रतियात्रु ३४० रुपैयाँ, भद्रपुर तीन सय, विराटनगर २४०, जनकपुर १२५, भरतपुर ११०, पोखरा १६०, भैरहवा २१०, नेपालगन्ज ३२५, धनगढी ४४५, तुम्लिङटार १८५, सिमरा ९०, सुर्खेत ३४५, राजविराज २०५ रुपैयाँ भाडा घटेको छ ।
यस्तै, पोखराबाट भरतपुर प्रतियात्रु ११५, भैरहवा १३०, सिमरा २२५, नेपालगन्ज २४०, विराटनगर ३५५, जनकपुर २६० भद्रपुर ४०५ रुपैयाँ भाडा घटेको क्यानले जनाएको छ ।
ट्रंक सेक्टरतर्फ नै विराटनगर–तुम्लिङटार ११० र भैरहवा–भरतपुर २९० रुपैयाँ हवाई भाडा घटेको छ ।